हेल्थ टुडे,
काठमाडौं : राजधानीको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा मस्तिष्क ट्युमरका बिरामीको बेहोस नपारी गरिने (अवेक क्रानियोटोमी) विधिबाट सफल शल्यक्रिया गरिएको छ ।
२२ वर्षका एक युवाको मस्तिष्कको देब्रेतर्फ रहेको बोलीको केन्द्रलाई असर पुर्याउन सक्ने गरी रहेको ५.४ सेन्टिमिटरको ट्युमरको बेहोस नपारी टाउकाका नसाहरू लठ्याएर सफल शल्यक्रिया गरिएको हो । ६ घण्टा लामो शल्यक्रियापछि बरामीलाई बचाउन सफल भएको अस्पतालले जनाएको छ । छारेरोगको लक्षण देखिएर अस्पताल आएका राजधानीका सर्फराज शर्माको जाँच गर्दा यस्तो समस्या देखिएको थियो । उनको शल्यक्रिया न्युरो सर्जन डा. प्रत्याश श्रेष्ठको नेतृत्वमा डा. सुरेश विक, डा. विभूषणकाल श्रेष्ठ संलग्न थिए । अस्पतालमा डा. उपेन्द्र देवकोटा जीवित रहँदा हातखुट्टाको शक्ति र चाल बचाउन यस्ता १० वटा शल्यक्रिया यसै विधिबाट गरिएको थियो । तर, बोली बचाउनका लागि गरिएको भने पहिलोपटक हो ।
शल्यक्रिया गर्दा अस्पतालमा रहेको विशेषखालको एमआरआईको माध्यमबाट बोलीको ट्र्याकहरू रेखांकन गरिएको थियो । त्यस्तै, भिडियो इइजीको माध्यमबाट छारेरोगको केन्द्र ट्युमरको अघिल्लो भागमा रहेको ट्युमरको रेखांकन गरिएको थियो । यस्तो शल्यक्रियामा बिरामीको समन्वय चाहिन्छ । शल्यक्रियाका क्रममा बिरामी आत्तिने, चिच्याउने र कराउने गर्नुहुँदैन । शल्यक्रिया गर्दा बाहिरबाट टाउकाको नसामा नदुख्ने सुई लगाएर ट्युमर निकाल्नुअघि टाउको खोलेर एउटा विशेष यन्त्रबाट स्टिमलेसन गर्दै मस्तिष्कको कुन भागमा बोली आएको छ भन्ने रेखांकन गरिन्थ्यो । यसक्रममा बिरामीलाई १ देखि ५० सम्म गन्न लगाइने, फोटाहरू चिन्न लगाउँदै सुनेको कुरा बुझे–नबुझेको यकिन गर्दै शल्यक्रिया गरिएको थियो ।
Leave a Reply