हेल्थ टुडे,
काठमाडौं, २४ पुस : बयोधा अस्पतालका संस्थापक अध्यक्ष स्वर्गिय डा.श्यामबहादुर पाण्डेको स्मरण गर्दै उनको जन्मदिवसको अवसर पारेर मंगलबार ‘बयोधा केयर डे’ मनाइएको छ । हरेक वर्ष बयोधाले डा.पाण्डेको जन्मदिवसको अवसर पारेर कार्यक्रम मनाउदै आइरहेको छ । डा. पाण्डेको गत कार्तिक २० गते देहान्त भएको थियो । बल्खुस्थित अस्पतालको प्राङ्गणमा आयोजना गरिएको ‘बयोधा केयर डे’ मा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले संस्थापक डा. पाण्डेले पुर्याएको योगदानको स्मरण गर्दै उनले देखाएको बाटोमा हिड्ने प्रतिवद्वता व्यक्त गरेका छन् । कार्यक्रममा अस्पतालका विशेषज्ञ डा.प्रकाशराज पाण्डेले स्वर्गिय डा. पाण्डे चिकित्सक मात्र नभएर आफ्नो गुरु समेत भएको स्मरण गर्दै उनले देखाएको बाटोमा सधै हिड्ने बताए ।
अर्का विशेषज्ञ डा.रामनाथ सिंहले डा. पाण्डेको निधनले अस्पताललाई अपुरणिय क्षति भएको अनुभव सुनाउदै उहाँको प्रेरणाले आफूलाई सक्रिय भएर सेवा गर्ने उत्साह जागेको बताए । बयोधा अस्पतालका सिईओ रवि चौधरीले अस्पतालका संस्थापक डा. पाण्डेको योगदानको स्मरण गर्दै उहाँले देखाउनु भएको मार्गमा सधै लागिरहने बताए । कार्यक्रममा उत्कृष्ठ कार्यसम्पादन गर्ने अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानपत्र पाउनेहरुमा प्रतिक्षित शाक्य,लक्ष्मी महर्जन,सविता राइमाझी, सन्जु बस्नेत, विनु शाक्य,एरिना जोशी, कविन्द्र श्रेष्ठ, सन्तोष भट्ट, बसनत खड्का लगायत छन् । कार्यक्रममा डा. प्रकाश श्रेष्ठले स्वर्गिय डा. पाण्डेसँगको आफुले काम गर्दाको अनुभव सुनाउँदै उहाँले देखाएको बाटोमा हिड्न सके उहाँ प्रतिको सम्मान हुने बताए ।
Leave a Reply