हेल्थ टुडे,
काठमाडौं,२ माघ : स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्ण सुवेदी प्रदेशका अस्पतालहरुलाई सवच्छ र सफा राख्न आफै कस्सिएर लागेका छन् । अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापन सम्बन्धी अवलोकन गर्न र सिक्न उनी बुधबार प्रदेशका स्वास्थ्यकर्मी सहित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे । त्यहाँ उनले त्रिवि शिक्षण अस्पतालले गरिरहेको अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापन सम्बन्धी विभिन्न विधि, प्रकृया, परिणाम र चुनौतिका विषयमा विज्ञहरुबाट जानकारी लिए ।
त्रिवि शिक्षण अस्पतालले विश्व स्वास्थ्य संगठन र हेल्थ केयर फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा बिगत चार वर्षदेखि अस्पतालजन्य फोहोर व्यवस्थापन र प्रशोधन गर्दै आइरहेको छ । मन्त्री सुवेदी सहित सुदूरपश्चिमका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी, समाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमाल, स्वास्थ्य महासाखा निमित्त प्रमुख दयाकृष्ण पन्त सहित अस्पतालका निर्देशकहरु, स्टाफ नर्स र स्वास्थ्य महासाखा मातहतका कर्मचारीलाई हेल्थ केयर फाउण्डेसनका महेश नकर्मी, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्का, पूर्व निर्देशक प्रा.डा. दीपक महराले शिक्षण अस्पतालले गरिरहेको फोहोर व्यवस्थापन र प्रशोधनका बिषयका विविद् आयामका बिषयमा जानकारी गराएका थिए । मन्त्री सहितको टोलीले शिक्षण अस्पतालको विभिन्न वार्ड, फाहोर संकलन केन्द्र, प्रशोधन केन्द्र र व्यवस्थापन केन्द्रको अवलोकन गरेको थियो । समाजिक विकास मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरुलाई वातावरणमैत्री बनाउन अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापन गर्न आवश्यक भएकाले अवलोकन भ्रमण र सिकाई अनुभव सुन्न त्रिवि शिक्षण अस्पताल आएको बताए । निकट भविश्यमा नै सुदूरपश्चिमका अस्पतालहरुमा अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापनको कार्य सुरु गरिने योजना रहेको उनले जानकारी दिए । सुवेदी दुई महिना अगाडि मात्र समाजिक विकास मन्त्री नियुक्त भएका हुन । दीर्घ सोडारी बर्खास्त भएपछि सुवेदी मन्त्री भएका हुन ।
सुदूरपश्चिमका सेती अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रिय अस्पतालको अस्पतालजन्य फोहोरको अवस्था अध्ययन गर्न केही दिनमा विश्व स्वास्थ्य संगठन र हेल्थ केयर फाउण्डेसन नेपालको प्राविधिज्ञ टोली त्यहा जाने छ । उक्त टोलीको अध्ययन र सुझावका आधारमा सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले अस्पतालजन्य फोहोर प्रशोधन र व्यवस्थापन अभियानलाई अगाडि बढाउने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले प्रदेशभित्रका स्वास्थ्य संस्थालाई वातावरणमैत्री बनाउन यो अभियान अगाडि बढाइएको बताउदै हरेक नागरिकले गुणस्तरीय सेवा पाउनु पर्नेमा जोड दिए । सस्तो पाइन्छ भन्दै अहिले पनि धेरैजसो स्वास्थ्य संस्थाले कमसल सिरिन्ज र उपकरण किन्ने गरेको प्रसंग उठाउदै डा. अवस्थीले गुणस्तरमा ध्यान दिनु आवश्यक रहेको बताए ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. खड्काले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थालाई वातावरणमैत्री बनाउन आफूहरुले सक्दो सहयोग र सहकार्य गर्न तयार रहेको बताए । अस्पतालका पूर्व निर्देशक डा. महराले आफूले यो काम सुरु गर्दा धेरै पटक सरकारलाई गुहार्नु परेको स्मरण गर्दै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य मन्त्री स्वयं यस बिषयमा सिक्न र लागु गर्न आफै लागिरहेको देख्दा खुशी लागेको बताउदै अभियान सफल हुनेमा शंका नरहेको बताए । मन्त्री सुवेदीले बिहीबार निजी क्षेत्रको अस्पतालले गरिरहेको अस्पतालजन्य फोहोर व्यवस्थापन र प्रशोधनका बिषयमा जानकारी लिने योजना छ ।
Leave a Reply