काठमाडौ,१९ फागुन । सरकारले नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका औषधिहरूलाई विदेशबाट आयात गर्न रोक लगाउने तयारी गरेको छ । नेपालमा नै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका र कुनै पनि अवस्थामा अभाव नहुने औषधिको सुनिश्चितता गरी त्यस्तै प्रकारका औषधि विदेशबाट ल्याउन रोक लगाउन लागेको हो ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विदेशबाट औषधि आयात रोक्ने औषधि परामर्श परिषद्को बैठकको निर्णय मन्त्रिपरिषद्मा पठाउने तयारी भएको जानकारी दिए । शुक्रवारबाट चितवनको भरतपुरमा सुरु भएको फर्मा एण्ड हेल्थ एक्स्पोको दोस्रो दिन सम्बोधन गर्न चितवन पुगेका मन्त्री यादवले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको बताए । उनले भनेः‘गुणस्तरीय कायम हुनुपर्छ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार सदै तत्पर छ ।’
मन्त्री यादवले औषधि उद्योगीहरूलाई उत्पादनमा मात्र नभएर कच्चा पदार्थ उत्पादनमा पनि ध्यान दिन सुझाव दिए । स्वास्थ्यमन्त्रीको अध्यक्षतामा एक महिनाअघि बसेको औषधि परामर्श समितिको बैठकले नेपालमा आत्मनिर्भर भएका र शत प्रतिशत गुणस्तरमा सुनिश्चितता भएका औषधिका लागि विदेशबाट कच्चा पदार्थ मात्र आयात गर्न पाउने गरी रोक लगाउने प्रस्ताव पास गरी मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो।
सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने गरी गरेको यो निर्णयलाई औषधि उत्पादक सङ्घले स्वागत गरेको छ। सङ्घका अध्यक्ष दीपक दाहालले सरकारले नेपाली उद्योगलाई विश्वास गरेको हुँदा त्यो विश्वासलाई अझ मजबुत बनाउन आफूहरू लागि पर्ने बताए। औषधी व्यवस्था विभागले नेपालमै आत्मनिर्भर भएका भनिएका औषधिहरूमा जुकाको औषधि अल्वेण्डाजोल, एन्टिवाइटिकमा एमोक्सासीलिन र एजिथ्रोमाइसिन, झाडापखालाका लागि प्रयोग हुने मेट्र्रनाजोल र पुर्नजलीय झोल, ग्यास्ट्रीक हुँदा प्रयोग हुने ओम्नीप्राजोल, पेन्टाप्राजोल र रेनिटिडीन रहेका छन् ।
त्यसै गरी भिटामिन, कफसिरफ, इन्जाइमका औषधिहरू आत्मनिर्भर भएको विभागको सिफारिसमा उल्लेख छ। ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने, छालाको रोग सम्बन्धी औषधिहरू उत्पादनमा नेपालकै कम्पनी आत्मनिर्भर रहेको भन्दै सरकारले ती औषधि उत्पादनका लागि चाहिने कच्चापदार्थ मात्र निर्यातका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। नेपालमा हाल ५६ वटा उद्योगले तीन सय भन्दा बढी प्रकारका औषधि उत्पादन गरिरहेका छन्।(कान्तिपुर दैनिकबाट)
Leave a Reply