हेल्थ टुडे,
महेन्द्रनगर,२२ फागुनः महाकाली अञ्चल अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा विरामी समस्यामा परेका छन् । अञ्चल अस्पतालमा २७ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर अहिले अञ्चल अस्पताल ४ जना डाक्टरका भरमा अस्पताल चलिरहेको छ । अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने महाकाली अञ्चल अस्पतालमा ७ जना विषेशज्ञ डाक्टर भन्दा बढि कहिल्यै आएका छैनन् ।
अस्पतालमा आईसीयू सेवाका लागि उपकरण जडान गरेको तीन बर्ष बितेको छ तर दरबन्दी अनुसार डाक्टर नहुँदा आईसीयू, एनआइसीयू लगायतका सेवाहरु ठप्प छन् । जडान गरिएका उपकरणहरुमा खिया लागेर बिग्रिने अवस्थामा पुगेका छन् । अस्पतालमा दरबन्दी अनुसार डाक्टर थपेर,थप उपकरण ल्याएर अस्पतालको सेवा प्रभावकारी बनाउनुको सट्टा जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यान भने अस्पतालको नाम फर्नतिर केन्द्रित छ । स्थानीयहरुले भने अस्पतालको नाम परिर्वतन गर्न नभई अस्पतालको सेवा प्रभावकारी बनाउनतिर ध्यान दिन आग्रह गरेका छन् ।
महाकाली अञ्चल अस्पतालमा दरबन्दी अनुसार डाक्टर आईहाले पनि धेरै दिन बस्दैनन् । राजनीतिक पहँुच लगाएर दरबन्दी महाकाली अञ्चल अस्पतालमा भएपनि राजधानी काठमाडौ वा सुविधासम्पन्न शहरमा बस्ने गरेका छन् ।
अस्पतालको प्रशासनमा कार्यरत एक जना कर्मचारीले भनेः‘अस्पतालले विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सबै सामग्रीहरु ल्याइसकेको छ, गर्ने नर्सहरु पनि पर्याप्त छन्, तर एउटा पनि विशेषज्ञ चिकित्सक नहुँदा उपकरण त्यत्तिकै थन्किएका छन् भने नर्सहरु फुर्सदिला भएका छन्।’
स्थानीय बासिन्दाले सरकारले अब तत्काल अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु पठाएर छिट्टै विशेषज्ञ सेवा सुरु गर्नुपर्ने माग गरेका छन् ।
Leave a Reply