हेल्थ टुडे,
काठमाडौ,१० चैतः नेपालमा रुघा लाग्दादेखि टाउको दुख्दासम्म तत्काल राहतका लागि पेनकिलर नै सेवन गर्ने चलन बसेको छ । दुखाइको समस्यामा चिकित्सकले सजिलै पेनकिलर चलाइदिन्छन् र बिरामी तत्काल राहत अनुभव गर्दै खुसी हुन्छन् । पेनकिलरले दीर्घकालमा गम्भीर असर निम्त्याउनेमा सर्वसाधारण कमै जानकार छन्, चिकित्सक भने जानकार भएर पनि नजरअन्दाज गरिरहेका छन् । अन्जानमै लामो समय पेनकिलर प्रयोग गर्दा कैयौँको मिर्गौला, मुटुलगायत भित्री अंग ड्यामेज भएका छन् ।
‘मधुमेह, उच्च रक्तचाप, हाई कोलेस्टोरल र मिर्गौलाको समस्या हुँदा पेनकिलर झन् हानिकारक हुन्छ,’ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्,‘मुख सुक्यो, पिसाब घट्यो भन्दै आउने बिरामीले पेनकिलर प्रयोग गरेको पाइयो । यसले मिर्गौला, मुटुलगायत भित्री अंग खतम गरिदिन्छ ।’
उच्च रक्तचाप र घुँडाको दुखाइ कम गर्न स्थानीय स्वास्थ्यकर्मीको सिफारिसमा पाँच वर्षदेखि पेनकिलर सेवन गर्दै आएका सुनसरीका सुदेश लम्साल अहिले डाक्टरले साइडइफेक्टबारे बताएपछि तनावमा छन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल नेपालमा धेरै बिक्री हुने औषधिको सूचीमा पेनकिलर पनि पर्ने बताउँछन् । पेनकिलरबारे अनुसन्धान गरेर आमनागरिकमा चेतना फैलाउन आवश्यक रहेको उनले बताए । नेपालमा ब्रुफेन, भोभेरान, ट्रामाडोल, निमेसुलाइड, डाइक्लोफेनेकलगायत पेनकिलर बढी प्रयोगमा छन् ।
पेनकिलरले निम्त्याउने समस्या
–पेनकिलर अत्यधिक सेवन गर्दा फेक्सो खराब हुने तथा दमलगायत श्वासप्रश्वासको समस्या हुन्छ ।
–पेनकिलर धेरै सेवन गर्ने व्यक्तिको पेटमा घाउ नै बन्छ । यसले ग्यास्ट्रिक हुने, छातीमा जलन हुने, पेट दुख्ने र बान्ता हुने समस्या ल्याउँछ ।
–लामो समयसम्म पेनकिलर सेवन गर्दा मिर्गौला नै बिग्रन्छ । रगत दूषित बनाएर हृदयाघात गराउँछ ।
–पेनकिलर निरन्तर प्रयोग गर्दा कलेजोको सेल्स मर्न थाल्छन् । यो अवस्थामा व्यक्ति दुब्लाउँदै जाने र भोक कम लाग्ने हुन्छ ।
पेनकिलरमा पल्किए नेपाली
डा.ऋषिकुमार काफ्ले
वरिष्ठ मिर्गौलारोग विशेषज्ञ
दुखाइ कम गर्ने औषधि फरक–फरक छन् । साधारणतया पारासिटामोलले पनि दुखाइ कम गर्छ । तर, यो धेरैजसो चक्कीमा उपलब्ध हुने भएकाले घुल्न धेरै समय लाग्छ । बिस्तारै घुल्दा यसको असर पनि न्यून हुन्छ । तर, प्रायः झोलमा उपलब्ध हुने अन्य पेनकिलर छिटो घुल्ने भएकाले दुखाइ तत्काल कम गर्छ भने नकारात्मक असर पनि बढी गर्छ । पेनकिलरको नकारात्मक असर थाहा नहुने सर्वसाधारणले तत्काल राहत दिने पेनकिलर नै सेवन गर्छन् । कतिपय स्वास्थ्यकर्मी र औषधिपसलले पनि यसलाई प्रोत्साहन गरिरहेका छन् ।
डेढ अर्बको उत्पादन, दुई अर्बको आयात
नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष शंकरप्रसाद घिमिरेका अनुसार नेपालका सबैजसो औषधि उत्पादक कम्पनीले पेनकिलर उत्पादन गर्दै आएका छन् । भारतबाट पनि यसको आयात निकै ठूलो मात्रामा हुन्छ । नेपालमा पेनकिलरको उत्पादन प्रतिवर्ष डेढ अर्ब बराबरको हुने र भारतबाट दुई अर्बबराबरको आयात हुने घिमिरेले बताए ।‘पेनकिलरको प्रयोग अनावश्यक मात्रामा भएको छ । बजारमा यसको व्यापक दुरुपयोग छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसविना पनि बिक्रीवितरण भएका छन्,’ उनले भने,‘व्यवस्थापन नगरिए दीर्घकालमा झन् गम्भीर समस्या ल्याउनेछ ।’(नयाँ पत्रिका दैनिकबाट)
Leave a Reply