हेल्थ टुडे,
भक्तपुर,२२ फागुनः भक्तपुर क्यान्सर अस्पताल आजबाट २४ औं वर्षमा प्रवेश गरेको छ । विसं २०५१ सालमा नेपाल अर्बुदरोग निवारण संस्थाले स्थापना गरेको यो अस्पतालले सुरुमा १५ शैयाबाट सेवा आरम्भ गरेको थियो । अस्पताललाई अहिले आकस्मिक र डे केयर गरी १ सय ४० शैयामा विस्तार गरिएको छ ।
अस्पतालले क्यान्सर उपचारमा सर्जरी, केमोथेरापी वार्ड, आइसियु सेवा, डे केयर, सर्पोटिभ केयर, बाल ब्लड क्यान्सर वार्ड, विभिन्न रोगका ओपिडी सेवा, आधुनिक प्याथोलोजी सेवा, सिटिस्क्यान, इन्डोस्कोपी, अल्ट्रासाउण्ड, एनेसथेसिया, शल्यक्रिया विभाग, रेडियोलोजी लगायतका सेवा उपलब्ध गराउँदै आएको छ।
गैरनाफामुखी समाजिक संस्थाको रुपमा सञ्चालित यस अस्पतालमा सन् २०१२ मा २८ हजार ३ सय ६६ जना उपचारका लागि अस्पताल पुगेका थिए भने सन् २०१७ मा ६८ हजार ४ सय ४१ बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार क्यान्सरका बिरामी दिनानुदिन बढ्दै छन्।
अस्पतालले यो वर्ष मात्रै ७७ हजार ८ सय ३३ जना बिरामीको उपचार गरेको छ जसमा ३ हजार ४ सय १२ जना क्यान्सरको बिरामी भएको पत्ता लागेका जनाएको छ । औसतमा दैनिक ९ जना नयाँ बिरामीलाई क्यान्सर भएको पत्ता लाग्ने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले सुरुमै क्यान्सर पत्ता लगाउन आफ्ना ४२ जिल्लामा रहेका जिल्ला शाखामार्फत र शाखा नभएकामा आफैंले क्यान्सर शिविर तथा जनचेतामूलक कार्यक्रम गर्दै आएको छ।
अस्पतालले आगामी बैशाखदेखि रेडियोथेरापीको लागि अत्याधुनिक लिनायक मेसिनबाट उपचार सुरु गर्ने र यो मेशिन जडानपछि बिरामीले अझ राम्रो सेवा सुविधा पाउने जनाएको छ । ७५ प्रतिशत क्यान्सरको उपचार भइरहेको अस्पतालमा यो मेसिन जडानपछि ९५ प्रतिशत क्यान्सर उपचार सेवा प्रदान गर्ने जनाएको छ ।
४ वटा शल्यक्रिया कक्ष भएको अस्पतालमा उपचार गराइरहेका बिरामी तथा बिरामीका कुरुवाका लागि निःशुल्क बस सेवा पनि दिने गरेको छ । नेपालमा रहेका क्यान्सर रोगीहरूलाई सरल र सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यो अस्पतालले आगामी दिनमा थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
Leave a Reply