हेल्थ टुडे,
बुटवल,२४ फागुनः विभिन्न क्षेत्रमा मजदुरको काम गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरेर अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।
पति तथा परिवारसँगै काममा खटिने श्रमिक महिलालाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गर्नेदेखि सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्दै यस्तो अभियान शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य महाशाखाले यो अभियानको संयोजन गरिरहेको छ ।
‘उपप्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ शीर्षकमा शुरु गरिएको अभियानलाई उपमहानगर मातहतका शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत १९ वटै वडामा विस्तार गरिने जनाइएको छ । नगरप्रमुख शिवराज सुवेदीले महिला तथा शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउँदै समयमै तथा स्तरीय स्वास्थ्य सेवा पाउने गरी नगरका सबै स्वास्थ्य केन्द्रमा विशेष निर्देशन गरिएको जानकारी दिए ।
अभियान शुरु गरिएकै दिन चार जना सुत्केरी महिला र ४८ जना गर्भवती महिलालाई पौष्टिक आहार र औषधि वितरण गरिएको उपमहानगर पालिकाले जनाएको छ । यस्तै,नगरमा रहेका नगर स्वास्थ्य केन्द्र तथा अरु स्वास्थ्य संस्थामा सम्मानजनक प्रसूति सेवा प्रदान गर्नेगरी स्वास्थ्य सेवाप्रदायकलार्ई तालीम र परामर्श दिने अभियानसमेत शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
Leave a Reply