हेल्थ टुडे,
काठमाडौ,२ चैतः केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन भएको १३ महिना बितिसक्दासमेत प्रत्येक स्थानीय तहमा एक चिकित्सक र आधारभूत सुविधा सम्पन्न अस्पताल पु¥याउने लक्ष्य पूरा गराउन सरकारले असफल भएको छ । सरकारले प्राथमिकताका साथ प्रत्येक स्थानीय तहमा एक चिकित्सक र आधारभूत सुविधा सम्पन्न अस्पताल पु¥याउने लक्ष्य लिए पनि अझै ३५३ स्थानिय तह चिकित्सकविहीन छन् । देशमा कार्यरत चिकित्सकमध्ये झन्डै ७० प्रतिशत काठमाडौमा रहेका छन् ।
वर्तमान सरकारले स्थानीय तहमा कम्तिमा एउटा सुविधा सम्पन्न अस्पताल र चिकित्सक पु¥याउने लक्ष्य लिएको भएपनि अझै आधाभन्दा बढी स्थानीय तहमा चिकित्सक पुग्न सकेका छैनन् । जसका कारण दुर्गम गाउँमा बसोबास गर्ने लाखौँ बिरामी गुणस्तरयुक्त स्वास्थ्य सेवा लिनबाट वञ्चित भइरहेका छन् । शहरी क्षेत्रमा चिकित्सकहरू केन्द्रीकृत हुँदा स्थानीय तहमा चिकित्सक पठाउने सरकारको लक्ष्य असफल भएको हो ।
सरकारले अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार नथप्दा र सरकारी चिकित्सकको दरबन्दी सिर्जनामा राज्य संवेदनशील हुन नसक्दा यस्तो समस्या सिर्जना भएको हो । प्रदेश र स्थानीय तहले डाक्टरको दरबन्दी आफै सिर्जना गर्ने भएकाले पनि अहिले समस्या देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले केन्द्रले संघीय अस्पतालहरूका लागि स्थायी दरबन्दी सिर्जना गर्ने जनाएका छन् ।
नेपाल मेडिकल काउन्सिलका अनुसार झन्डै २४ हजार चिकित्सक दर्ता भएका छन् । तीमध्ये करिब १२ हजार चिकित्सक विभिन्न अस्पतालमा कार्यरत रहेका नेपाल चिकित्सक संघले जनाएको छ । जसमध्ये ६० देखि ७० प्रतिशत चिकित्सक राजधानीका विभिन्न अस्पतालहरूमा कार्यरत छन् । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठका अनुसार सरकारले पर्याप्त पूर्वाधारसहितको अस्पताल नबनाउँदा चिकित्सकहरू ग्रामीण क्षेत्रमा जान मान्दैनन् । विशेषज्ञ चिकित्सकहरूलाई स्थानीय तहमा खटिएबापत वृत्तिविकास र विभिन्न अवसर दिएमा उनीहरू त्यहाँ जान सक्ने उनले बताए ।
सरकारी चिकित्सक संघका अनुसार १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन् । अहिले ३ सय स्थानीय तहमा मात्रै मेडिकल अधिकृत छन् । देशमा ७५३ स्थानीय तह र ६ हजार ७४३ वडा छन् । अझै पनि ४५३ स्थानीय तहमा तत्काल मेडिकल अधिकृत परिपूर्ति गर्नुपर्ने देखिन्छ तर सरकारले यसप्रति गम्भीरता देखाउन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले सरकारले सबै स्थानीय तहमा अस्पताल पु¥याउने लक्ष्यका साथ काम गरिरहेको दावी गरे ।
हाल देशभर ३१४ वटा स्वास्थ्य संस्थाहरू छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रति १० हजार बिरामीहरूका लागि २३ स्वास्थ्यकर्मी हुनुपर्ने देखिन्छ । तर, नेपालमा सो मापदण्ड व्यवहारमा लागू हुन सकेको छैन । जसले गर्दा पनि बिरामीहरूले अकालमै मृत्युवरण गर्नुपरेको छ ।(राजधानी दैनिकबाट)
Leave a Reply