हेल्थ टुडे,
सुर्खेत,४ चैतः उच्च अदालत सुर्खेतले रुकुम पश्चिममा मदिरा नियन्त्रण गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश भानुभक्त शर्मा न्यौपाने र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो । जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लामा मदिराको किनबेच र सेवनमा रोक लगाउने निर्णय गर्दै अभियान चलाएको थियो ।
सो निर्णय खारेजको माग गर्दै मदिरा व्यवसायी पवन केसीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि भएको सुनुवाइपछि अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अदालतले आन्तरिक राजस्व कार्यालयबाट इजाजतपत्र लिई मदिरा पसल सञ्चालन गर्दै आएको देखिँदा मदिरा पसलमा ताला लगाउने कार्य नगर्न नगराउन र ताला तथा सिलबन्दी लगाइएको भए तत्काल खोल्न निर्देशन दिएको छ ।
जिल्लामा ६ माघदेखि मदिरा आयात बन्द गरिएको थियो भने फागुन १६ गतेबाट मदिरा पसल बन्द अभियान चलाइएको थियो । तर,अदालतले गरेको अन्तरिम आदेशपछि जिल्लाका इजाजतप्राप्त पसललाई मदिरा व्यापार गर्ने बाटो खुलेको छ । जिल्लामा फागुन १६ गतेबाट मदिरा पसल बन्द थिए भने मदिरा कारोबार रोकिएको थियो ।
Leave a Reply