हेल्थ टुडे,
पोखरा,८ चैतः कलेजमा अध्ययनरत विद्यार्थीलगायतको चौतर्फी दवावपछि पोखरास्थित गण्डकी मेडिकल कलेज विद्यार्थीबाट अबैध उठाइएको शुल्क एक महिनाभित्र फिर्ता गर्न सहमत भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको रोहबरमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, डिन, कलेज सञ्चालक, पीडित विद्यार्थी, विद्यार्थी संगठनबीच बिहीबार भएको बैठकमा रकम फिर्ता गर्ने सहमति भएको हो ।
विश्वविद्यालय, कलेज सञ्चालक र मन्त्रालयका प्रतिनिधिले शुल्क फिर्ताको अनुगमन गर्ने पनि सहमति भएको छ । लाखौँ ठगीमा परेका गण्डकी मेडिकल कलेजका विद्यार्थी मन्त्रालयमा भएको सहमतिप्रति विश्वस्त नभएकाले सम्बन्धन खारेजीको पहल गर्न सरकार र विश्वविद्यालयलाई आग्रह गरेका हुन् । तर, जबर्जस्ती असुलिएको शुल्क फिर्ता भए पनि गण्डकी मेडिकल कलेजको हकमा अदालतमा दर्ता मुद्दा फिर्ता नहुने विद्यार्थीले अडान राखेका छन् ।
यसैबीच, सहमतिपछि गण्डकी मेडिकल कलेज र हस्पिटल विद्यार्थी आन्दोलनका कारण बन्द भएको ५१ दिन पछि सञ्चालनमा आएको छ । यसअघि यही २ चैतमा आन्दोलनरत विद्यार्थीले आफ्ना माग अदालती प्रक्रियाबाट टुंगो लाग्ने भन्दै अस्पतालकोे ओपिडी सहित टिकट काउन्टर गरेर ६ वटा ताला खोलिदिएका थिए । त्यही दिन कलेजमा लगाइएको ताला समेत खोलिएको थियो । त्यसको ५ दिनपछि कलेज र अस्पताल सञ्चालनमा आएको हो ।
कलेज सञ्चालक मध्येका एक हुमनाथ कोइरालाले सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उत्पन्न जटिल परिस्थिती पछि व्यवस्थापनमा केही जटिलता आएकाले सञ्चालनमा ढिलाई भएको जानकारी दिए । उनले आफूहरु सधै कलेज र अस्पताल सञ्चालन गर्न लागिपरेको तर, वातावरण अनुकुल नरहेकाले बन्द हुन पुगेको बताए । गण्डकी मेडिकल कलेजका निमित्त प्राचार्य डा.प्रकाश बरालका अनुसार बिहीबार सबै विभागमा पढाई सुरु गरिएको छ । गण्डकी मेडिकल कलेजको लेखनाथ स्थित कलेज सञ्चालनका लागि निमित्त प्राचार्य डा. प्रकाश बराललाई जिम्मा दिइएको छ । त्यसैगरी पोखराको नयाँ बजारमा रहेको अस्पताल सञ्चालनको जिम्मा अस्पतालका मेडिकल सुपरिटेन्डेन टुमायाँ घलेलाई दिइएको छ ।
विद्यार्थीबाट बढी शुल्क असुलेको आरोपमा कास्की प्रहरीले सञ्चालकसमेत रहेका पूर्व सिइओ सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मालाई फागुन २२ गते पक्राउ गरेको छ । उनीहरुविरुद्ध ठगी मुद्दामा म्याद थपेर प्रहरीले अनुसन्धान जारी राखेको छ । उनीहरुसंगै पक्राउ पुर्जी जारी भएका कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, कर्मचारीहरु तीलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरे विरुद्ध पक्राउ पुर्जी जारी गरिएकाले उनीहरु फरार छन् ।
तर,प्रशासनको ताला भने अझै खुलेको छैन् । आन्दोलनरत विद्यार्थीहरुले आफ्ना मागको पुरै सुनुवाई नभएसम्म प्रशासनको ताला नखोलिने अडान राखेका छन् ।
Leave a Reply