हेल्थ टुडे,
बुटवल,१० चैतः प्रदेश नम्बर ५ को अस्थायी मुकाम रहेको रुपन्देहीमा सरकारी मेडिकल कलेज स्थापना हुने भएको छ। प्रदेशलाइ आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादन गर्ने र विशिष्टीकृत सेवाहरू प्रदशमै सर्वसुलभ उपलब्ध गराउने सरकारको नीतिअनुरूप प्रदेश ५ को रुपन्देहीमा सरकारी मेडिकल कलेज स्थापना गर्न लागिएको हो ।
प्रधानमन्त्रीले केपीशर्मा ओलीले कलेज स्थापनाको औपचारिक उद्घाटन गरेसँगै मेडिकल कलेज स्थापनाका लागि गुरुयोजना निर्माण गर्ने, इआए, जग्गा प्राप्तिलगायतका काम सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नं १ र ८ मा पर्ने शंकरनगर र करहिया समुदायिक बनको दुई सय बिगाह क्षेत्रफलमा प्रदेश शिक्षण अस्पताल बन्ने छ।
झन्डै १० अर्ब रुपैयाँको लागत अनुमान गरिएको आयोजनाका लाागि दुईवटा ठूला भवनसहित आवश्यक भौतिक पूर्वाधार निर्माण गरिनेछ। पाँच वर्षभित्र निर्माण सम्पन्न गरी मेडिकल कलेज सञ्चालन गर्ने योजना रहेको बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने मेडिकल कलेज तीन सय शैयाको हुने छ। तीन वर्षसम्म सञ्चालन भएपछि कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ । स्वास्थ्य क्षेत्रको जनशक्ति प्रदेशमै उत्पादन गर्ने उद्देश्यले सरकारले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो।
गत फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को रुपन्देही, प्रदेश २ को महोत्तरी र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको हो। यी तीनवटै मेडिकल कलेजका लागि यो वर्ष १०–१० करोडका दरले ३० करोड बजेट छुट्याइएको छ।
Leave a Reply