हेल्थ टुडे,
बैतडी,११ चैतः बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोष स्थापना गरेको छ । मातृ शिशु मृत्युदर घटाउने दोगडाकेदार गाउँपालिकाले मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको हो । गरीब, विपन्न तथा आर्थिक अभावले ज्यान जोखिममा रहेका महिला तथा शिशुको स्याहारसुसार र ज्यान जोगाउनको लागि कोषको स्थापना गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिईन् । उनले भनिन्ः‘गरीब विपन्न परिवारका लागि निकै प्रभावकारी हुने विश्वास लिएका छौँ ।’
यसका साथै गाउँपालिकालाई निकट भविष्यमै घरमा हुने शून्य सुत्केरी घोषणा गर्न पनि सहयोग पुग्ने उपाध्यक्ष कार्कीको भनाइ छ । प्रसूति व्यथा लागेकी महिलालाई पालिकाभन्दा आकस्मिक रुपमा बाहिर रेफर गर्नुपरेको खण्डमा यातायात खर्च ब्यहोर्ने गरी कोषको स्थापना गरिएको जनाइएको छ ।
गाउँपालिकाले कार्यविधि नै बनाएर मातृ शिशु आकस्मिक कोषको स्थापना गरेको हो । कोषको लागि चालू आर्थिक वर्षमा एक लाख २० हजार रकमसमेत विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यो वर्ष मातृ शिशु आकस्मिक कोषको लागि कम रकम विनियोजन गरिएको र अर्को वर्षदेखि उक्त कोषमा रकम थप्ने जनाइएको छ ।
कोष सञ्चालनका लागि गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय सञ्चालन समितिसमेत गरिएको छ । दोगडाकेदार गाउँपालिकामा हाल आठ सुरक्षित प्रसूति सेवा केन्द्र र पाँच सुरक्षित प्रसूति सेवा एकाइबाट प्रसूति सेवा दिइदै आएको छ ।
Leave a Reply