हेल्थ टुडे,
काठमाडौ,११ चैतः सरकारले विद्यार्थीबाट तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिँदै शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई खारेज गर्नेसम्मको कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सचिव बरालले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क असुल्ने गण्डकी मेडिकल कलेज तगायतका अन्य मेडिकल कलेजको सम्बन्धन समेत खारेज गर्ने चेतावनी दिए । बरालले नियम विपरित कुनै पनि मेडिकल कलेजले बढि शुल्क लिएको पाइए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन समेत आग्रह गरे ।
सरकारले चिकित्सा शास्त्र अन्तर्गत एमबीबीएसमा उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ शुल्क तोकेको छ । पछिल्लो समय गण्डकी मेडिकल कलेजमा विद्यार्थी भर्नामा बढी शुल्क लिएको भन्दै कलेज संचालकविरुद्ध उजुरी परेपछि सरकारले बढी शुल्क लिने मेडिकल कलेजमाथि छानविन गर्न समिति समेत बनाएको छ ।
सचिव बरालले गण्डकी मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न मन्त्रीपरिषद बैठकले नै सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिए । यस्तै,किस्ट मेडिकल कलेजले विद्यार्थीबाट अबैध शुल्क लिईरहेको सार्वजनिक भएपछि सरकारी छानविन समिति गठन गरिएको छ ।
बैठकमा समितिका सदस्यहरुले कानून विपरित जथाभावी शुल्क असुली गर्ने मेडिकल कलेजमाथि कारबाही नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । समितिका सदस्य गगन थापाले मेडिकल कलेजहरुमा जथाभावी शुल्क असुली गर्नेलाई निलम्बन गर्ने लगायतका काम गर्न सरकारसंग माग गरेका छन् ।
Leave a Reply