हेल्थ टुडे,
काठमाडौ,१७ चैतः स्वास्थ्यकर्मी र बजेट अभावका कारण देशकै एक मात्र केन्द्रीय बाल अस्पताल बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो ।
यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४ बेड थप गरेका थिए । यद्यपि अस्पतालले ५२ वटा आइसियू बेड सञ्चालन गर्न सकेन । जम्मा ३७ बेड मात्र सञ्चालित थियो ।
अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए । ‘मेडिकल अफिसर र आइसियूमा नर्सको चरम अभाव छ । बेड संख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ । यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं । तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ ।’
सरकारको सहयोग नपाएपछि निर्देशक राईले आफूलाई पदबाट हटाउन मन्त्रालयलाई अनुरोध समेत गरेका छन् । तर, निर्देशक बन्न कसैले चासो नदेखाएपछि मन्त्रालयले उनलाई हटाउन नसकेको मन्त्रालयका एक सहसचिवले बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भने कान्तीको समस्याबारे आफू जानकार नभएको बताए । उनले बुझेर समाधान खोज्ने जानकारी पनि दिए ।
कान्तिको यस वर्षको बजेट १९ करोड २० लाख छ । गत वर्ष २१ करोड ८४ लाख विनियोजन गरिएको थियो । अहिले कान्तिमा दैनिक आठ सय बिरामी आउने निर्देशक राईले बताए । कान्ति बाल अस्पतालमा सरकारी दरबन्दीका ३९ र अस्पताल विकास समितितर्फका ३५ गरी ७४ मेडिकल अफिसरको दरबन्दी छ । त्यसमध्ये सरकारी दरबन्दीका १० जना डाक्टर अध्ययन बिदामा छन् । तिनले अस्पतालबाटै तलबभत्ता बुझिरहेका छन् ।
अस्पताल विकास समितिका सातजना डाक्टरले राजीनामा दिएका छन् । ५७ मेडिकल अफिसर मात्र काम गरिरहेका छन् । त्यस्तै सरकारी ८४ र अस्पताल विकास समितिका ६४ गरी एक सय ४८ जना नर्सको दरबन्दी छ । त्यसमध्ये सरकारी सेवाका चारजनाको अनिवार्य अवकाश भएको छ भने समितिका पाँचजनाले राजीनामा दिएका छन् । ६ जनाले राजीनामा नबुझाई नै काम छाडेका छन् । निर्देशक राईका अनुसार थप तीन जना राजीनामा दिने तयारीमा छन् । सातजना सुत्केरी बिदामा बसेका छन् ।
दैनिक आइसियूमा भर्ना गर्नुपर्ने आठ बिरामी रेफर
बेड कटौतीपछि आइसियूमा भर्ना गर्नुपर्ने आठजना बिरामी दैनिक रेफर गर्नु परिरहेको अस्पतालले जनाएको छ । निर्देशक राईले तत्काल कर्मचारी र बजेट व्यवस्थापन नगरिए आइसियूका बेड अझै कटौती हुने बताए ।(नयाँ पत्रिका दैनिकबाट)
Leave a Reply