हेल्थ टुडे,
झापा,१७ चैतः प्रहरीले गएराती भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ वर्षीय ताहिर हुसेन, २७ वर्षीय सादम हुसेन र वौद्ध–१ काठमाडौँ निवासी ३१ वर्षीय झिनचोक शेर्पालाई औषधि बोक्न प्रयोग गरिएको भ्यान र दुई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।
मे १ ज ४०६३ नंको भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा चारैलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकामध्ये ताहिर भ्यान चालक हुन् ।
यो सँगै प्रहरीले मे ६ प १०१६ नंको मोटरसाइकल र अर्को एक थान भारतीय नम्बरप्लेट भएको वीआर ३७ ए २४९० को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
उनीहरुबाट नियन्त्रणमा लिइएको औषधिको मूल्य भने खुलाइएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Leave a Reply