हेल्थ टुडे,
सुर्खेत,११ बैशाखः स्वास्थ्य सेवाका कर्मचारी समायोजनप्रति सरकारी चिकित्सक,स्वास्थ्य सहायक लगायत स्वास्थ्य सेवाका कर्मचारी आन्दोलित भईरहेको बेला स्वयम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत कर्मचारी समायोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनमा भएको त्रुटिले स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त बनेको टिप्पणी गरेका छन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवा शुरु गर्दै मन्त्री यादवले समायोजनले जनतालाई राहत भन्दा बढी सास्ती दिएको बताए । उनले भनेः‘कर्मचारी समायोजन आफैमा त्रुटिपूर्ण छ,जहाँ सेवा छ, त्यहाँ जनशक्ति हुनुको सट्टा सेवा आवश्यक नभएको क्षेत्रमा कर्मचारी खटाइएको छ ।’
प्रदेश अस्पतालमा डाक्टर अभावको प्रमुख कारण समायोजन नै भएको जिकिर गर्दै मन्त्री यादवले जनताले पाउनु पर्ने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन अहिलेको समायोजनले सम्भव नहुने जिकिर गरे । मन्त्री यादवले हरेक तीन महिनामा मन्त्रालयका सचिवहरू फेरिने गरेकोमा आक्रोश पोखे ।
प्रदेश अस्पताललाई पहिले विशिष्ट अस्पताल बनाउनुपर्ने अनि मात्रै शिक्षण अस्पतालको रूपमा विकास गर्नुपर्नेमा स्वास्थ्यमन्त्रीको जोड थियो । कर्मचारी समायोजनमा भएको व्यापक त्रुटि सच्याउन सामान्य प्रशासन मन्त्रालयलाई गम्भीर हुन आग्रह मन्त्री यादवले त्रुटि नसच्याए समस्या झन् विकराल हुने चेतावनी दिए । मन्त्री यादवले कर्णाली अस्पताललाई जनशक्तिसहित भौतिक पूर्वाधारमा बलियो बनाउन प्रदेश सरकारलाई निर्देशन दिए ।
Leave a Reply