हेल्थ टुडे,
काठमाडौ,२२ चैतः कर्मचारी समायोजनबिरुद्ध देशभरका सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आजदेखि सम्पूर्ण सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बहिस्कार गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सकहरुले आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै आजबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका हुने । हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिने जनाएका छन् ।
सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् । गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेको छ । यो माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने संघले बुधबार निर्णय गरेको हो । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् ।
सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा.दीपेन्द्र पाण्डेले आज सरकारी चिकित्सकहरुले उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको जानकारी दिए । अध्यक्ष पाण्डेले देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेको जनाए । प्रधानमन्त्री केपी ओलीले गत फागुन १८ गते गोदानले राखेका माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि गोदानले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । तर,प्रतिबद्धता विपरित सरकारले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूचना प्रकाशित गरेपछि चिकित्सक पुनः आन्दोलित भएका हुन् ।
सरकारी चिकित्सकलाई अवैज्ञानिक र असमान समायोजन गरी स्थानीय तहमा कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गरेको, अध्ययन तथा वृत्तिविकासमा अप्रत्यक्ष अवरोध सिर्जना गरिएको सरकारी चिकित्सकहरुको जिकिर छ । उनीहरुले समायोजन पत्र समेत नबुझ्ने जनाएका छन् । सरकारी चिकित्सकहरूले कर्मचारी समायोजनमा संघअन्तर्गत रहन पाउनुपर्ने अडान राखेर लामो समयदेखि विरोध जनाउँदै आएका छन् ।
चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले समायोजन सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै संघले नेपाल सरकारमातहतका सम्पूर्ण चिकित्सकले घोषणा गरेको आन्दोलनमा संघको ऐक्यबद्धता रहेको जनाएको छ । संघले नेपाल सरकारले सरकारी चिकित्सकका माग अविलम्ब सम्बोधन गर्नुपर्ने उल्लेख गरेको छ ।
Leave a Reply