हेल्थ टुडे,
काठमाडौ,१२ बैशाखः गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर चार वर्षअघि आजकै दिन गएको भूकम्पले भत्किएका स्वास्थ्य संस्थाहरु मध्ये अझै ४ सय ७ वटा स्वास्थ्य संस्थाको निर्माण नै सुरु हुन सकेको छैन् । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण देशभरका १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त भएका थिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकारणले सार्वजनिक गरेको तथ्यांक अनुसार ४ सय ७ वटा स्वास्थ्य संस्थाहरुको अझैसम्म पनि पुनः निर्माण शुरु नै भएको छैन् । पुनः निर्माण नै शुरु नभएका स्वास्थ्य संस्थाहरुमध्ये १ सय ८१ पूर्ण क्षति भएका र २ सय २६ वटा आंशिक क्षति भएका छन् ।
भूकम्पले भत्किएका स्वास्थ्य संस्थामध्ये ६ सय ४३ वटाको पुनःनिर्माण सम्पन्न भएको प्राधिकारणले जनाएको छ । जसमा ३ सय १२ वटा पूर्ण क्षति र ३ सय ५३ वटा आंशिक क्षति पुगेको थियो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका अनुसार २०७२ सालमा गएको भूकम्पले भत्काएका १ सय ४५ वटा स्वास्थ्य संस्थाको पुनः निर्माणको काम भइरहेको छ ।
प्राधिकरणले स्वास्थ्य संस्था पुननिर्माणतर्फ समग्रमा ६६ प्रतिशत पुर्ननिर्माण भईसकेको र ३४ प्रतिशत बाँकी रहेको जनाएको छ ।
Leave a Reply