हेल्थ टुडे,
हुम्ला,१२ बैशाखः हुम्लाको सिमिकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराउन असमर्थ महिलाको लागि भिडियो एक्सरे सहितको चिकित्सकको टोली गाँउ पठाएको छ । हुम्ला जिल्ला अस्पतालका डा. टसी लामाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाँउ पुगेको हो । उक्त टोलीले गाँउमा गएर १६ जना गर्भवती महिलाको गर्भपरीक्षण गरेको छ ।
आमा सुरक्षा कार्यक्रमको कारण स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भएपनि कतिपय महिलाहरु अहिलेपनि गर्भ परीक्षणको पहुँचबाट टाढा रहेकाले चिकित्सकको टोलीलाई गाउँ नै पठाएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको चिकित्सक लामाले जानकारी दिए ।
सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु. आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप रु. तीन हजार दिने गरेको छ ।
Leave a Reply