हेल्थ टुडे,
काठमाडौ,१३ बैशाखः केन्द्रीय सरकारले प्रदेश अन्तर्गतका अस्पताल तथा स्थानीय तहका स्वास्थ्य संस्थालाई वितरण गर्न खरीद गर्न लागेको ९६ वटा एम्बुलेन्सको भन्सार महसुलमा ९९ प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले एम्बुलेन्स खरिदमा छुट दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
प्रवक्ता बास्कोटाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ विराटनगरले खरीद गरी प्रदेश अन्तरगर्तका स्थानीय तहलाई वितरण गर्न ७० थान एम्बुलेन्स खरीद गर्न लागेको जानकारी दिए । यस्तै, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतले प्रदेश अन्तरगर्तका अस्पतालहरुलाई वितरण गर्न १० थान र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले प्रदेश अन्तरगर्तका विभिन्न अस्पताल र स्वास्थ्य संस्थालाई वितरण गर्न १६ थान एम्बुलेन्स खरीद गर्न लागेको प्रवक्ता बास्कोटाले जानकारी दिए ।
प्रवक्ता बास्कोटाका अनुसार संघीय सरकारले यी सबै एम्बुलेन्स खरिद गर्दा भन्सारमा १ प्रतिशत मात्रै भन्सार शुल्क लिई बाँकी भन्सार महशुल छुट दिने निर्णय गरेको छ । प्रवक्ता बास्कोटाले ती एम्बुलेन्सहरु अहिलेसम्म भन्सार छुटमा एम्बुलेन्स आयात नगरेका स्थानीय तहलाई वा एम्बुलेन्स नभएका स्थानीय तहका सरकारी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पतालहरुलाई मात्र वितरण गरिने जानकारी दिए ।
Leave a Reply