हेल्थ टुडे,
हुम्ला,१४ शनिवार । गत एक हप्तादेखि फैलिएको अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका, १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् ।
यस्तै वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका बालक सन्जिब थापा रहेको मेला स्वास्थ्य चौकीले जनाएको छ ।
ज्वरो आउने छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने भएपछि मृत्यु हुने गरेको स्थानिय सरकारी अधिकारीले जानकारी दिएका छन् । एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिएको हो ।
स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा औषधी नभएपछि समयमै रोग नियन्त्रण गर्न नसकिएको स्थानीय स्वास्थ्य चौकी मेलाले जनाएको छ । मृत्यु हुने सबैको श्वासप्रश्वास र दमसम्बन्धि समस्या रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जनाए ।
घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताएका छन् ।
Leave a Reply