हेल्थ टुडे,
दाङ,१५ बैशाखः दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । गाउँपालिका–४ मा अहिलेसम्म ५० भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकाले जानकारी दिएका छन् । एक महीनाअघिदेखि शुरु भएको उक्त रोग न्यूनीकरण नभएपछि शनिबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष लोकराज केसीलगायत सरोकारवालाको टोलीले छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने पनि निर्णय गरेको छ ।
शाखाप्रमुख रोकाका अनुसार यही वैशाख १६, १७ र १८ गते वडा नं ३, ४ र ५ का विभिन्न वडामा बालबालिकालाई खोप लगाइने भएको छ भने १६ गते वडा नं ४ का दुई स्थानमा, १७ गते ४ का तीन स्थानमा, १८ गते ३ र ५ का दुई स्थानमा खोप लगाइने छ । वडा नं ४ मा दादुराको सङ्क्रमण देखिएकाले नजिकका बस्तीमा फैलन सक्ने भन्दै वडा नं ३ र ५ मा पनि दादुराविरुद्धको खोप लगाउन लागिएको हो ।
यसअघि पटक–पटक गाउँपालिकामा दादुराविरुद्धको खोप लगाउने अभियान चले पनि उनीहरुले बच्चालाई खोप लगाउन छुटाउँदा यस्तो समस्या निम्तिएको शाखाप्रमुख रोकाको भनाइ छ । त्यहाँका बालबालिकामा दादुराको लक्षण देखिएपछि विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक डा. पवन उपाध्यायको टोलीले आठ जनाको नमूना सङ्कलन गर्दा दादुरा भएको पुष्टि गरेको हो ।
गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्ण खोप सुनिश्चित गाविस थियो । पूर्ण खोपयुक्त गाविस भएको ठहर गरेपछि गरिएको सर्वेक्षणमा सबैले खोप लगाएको भनिए पनि धेरै बालबालिका छुटेको पाइएको थियो । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत डा. भरत भण्डारीले राजपुरमा दादुरा देखिएकामध्ये अधिकांश खोप नपाएका बालबालिका रहेको जानकारी दिएका छन् ।
Leave a Reply