हेल्थ टुडे,
काठमाडौ,१७ बैशाखः दुषित खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले सोमबार वाटर एम्बुलेन्स पठाएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो।
झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ पाउडरलगायतका सामाग्री बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ।
स्थलगत रुपमै पानीको गुणस्तर परीक्षण गरी पिउन हुने या नहुने भन्ने तथ्य उक्त वाटर एम्बुलेन्सबाट पत्ता लाग्ने छ। वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको प्रयोगशाला समेत जडान गरिएको हुन्छ। उक्त प्रयोगशालामा पानीको गुणस्तर परीक्षण गरिन्छ ।
विगत केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एकको मृत्यु भएको छ भने २ सय मानिस बिरामी परेका छन् । ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने लगायतका समस्याले दजाकोटमा समस्या देखिएको छ।
Leave a Reply