हेल्थ टुडे,
चितवन,१७ बैशाखः चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पताल आउने बिरामीमध्ये झण्डै आधा बीमाका बिरामी भएपछि सहज सुविधा दिनको लागि नयाँ विभाग शुरु गरिएको जानकारी दिए । उनले बिमा गरेका दैनिक ६०० बिरामी अस्पताल आउने गरेका जनाएका छन् । यस्तै, बीमा नभएका बिरामीको सङ्ख्या दैनिक ७०० हाराहारी हुने गरेको उनले बताए ।
उक्त बहिरङ्ग सेवामा चार जना चिकित्सक रहने व्यवस्था गरिएको छ । बीमा गरेका व्यक्तिले अन्य विभागबाट पनि सेवा लिन सक्नेछन् ।
हरेक दिन बिहान ९ बजेदेखि ३ बजेसम्म सेवा दिन सक्ने गरी बहिरङ्ग सेवा खोलिएको हो । अन्य बिरामीका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालनमा छ ।
सरकारले हाल बीमाका बिरामीलाई प्रथम सेवा बिन्दुको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकाले सरकारी अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ ।
निःशुल्क स्वास्थ्य बीमाअन्तर्गत देशका ४२ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी सङ्ख्यामा बीमा गरेको बीमा कार्यालयले जनाएको छ । स्वास्थ्य बीमा बोर्ड चितवनका अनुसार जिल्लामा दुई लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् ।
Leave a Reply