हेल्थ टुडे,
नेपालगञ्ज,३० बैशाखः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बन्दै गएको छ । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थीहरु नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको रहस्य खुलेको छ । अस्पतालका कर्मचारी र चिकित्सा विषयमा अध्ययनरत विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेजभित्र लागुऔषध सेवन गर्नेको सङ्ख्या रहेको अनुमान गरिएको छ ।
प्रहरीका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा बहालवाला चिकित्सक र एमबिबिएस अध्ययनरत विद्यार्थी लागुऔषध र्दुव्यसनमा फसेका छन्। यसको आँकडा धेरै छ। मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन्। प्रहरी अहिले मेडिकल कलेजभित्रको अनुसन्धानमा जुटेको छ। झण्डै १२ जनाभन्दा बढी चिकित्सक तथा कलेजमा अध्ययनरत विद्यार्थीले लागुऔषप्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कोहलपुर शिक्षण अस्पतालमा गाँजा र चरेस सेवन गर्नेको सङ्ख्या त झन धेरै छ। अस्पताल हाताभित्रै त्यसका अवशेष मज्जाले भेटिन्छन्।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई लागुऔषधसहित प्रहरीले वैशाख २४ मा जमुनाहा नाकाबाट पक्राउ गरेपछि यो रहस्य खुलेको हो । भारतको सीमा बजार रुपेडियाबाट लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा प्रहरीले एमबिबिएस चौथो वर्षमा अध्ययनरत धनगढी उपमहानगरपालिका–१ का निशान चन्द र तेस्रो वर्षमा अध्ययनरत भारत राजस्थानका अङ्कुर शर्मालाई पक्राउ गरेको थियो भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका तत्कालीन प्रशासन प्रमुख अरविन्द शर्मा पनि लागुऔषध ब्राउनसुगरसहित कार्यकक्षबाट नै पक्राउ परेका थिए ।
मेडिकल कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थी लागुऔषधसहित पक्राउ परेपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लागुऔषधको प्रयोग र कारोवार हुन्छ भन्ने प्रमाणित भएको छ। प्रदेश नं ५ नेपाल प्रहरीका लागुऔषध ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत १२ भन्दा बढी विद्यार्थीले लागुऔषध प्रयोग गर्ने गरेको सूचना प्राप्त भएको जनाए ।
उनले विद्यार्थीलाई निगरानीमा राखेको बताउँदै शिक्षण अस्पताल कोहलपुरका विद्यार्थीले लागुऔषध प्रयोग गर्दै आएको प्रमाणित भएको बताए। मेडिकल कलेज व्यवस्थापन समिति र कलेजका प्रबन्ध निर्देशक श्रवणकुमार चौधरीसँग छलफल जारी रहेको बताउँदै प्रहरी निरीक्षक थापाले कुलतमा फसेका विद्यार्थीलाई सही बाटोमा ल्याउन र कारवाहीको दायरामा ल्याउन अस्पताल प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।(रासस)
Leave a Reply