हेल्थ टुडे,
कैलाली,३१ बैशाखः कैलालीको टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका सुत्केरी महिलालाई आवश्यक रगत र अस्पतालसम्म पुग्न एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्न शुरु गरेको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीमार्फत रगत गत असोजदेखि र एम्बुलेन्स सेवा फागुनदेखि दिन थालेको हो । रगत १२५ र एम्बुलेन्स सेवा २० सुत्केरीले लिएको सोसाइटी टीकापुरले जनाएको छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भनेः‘घरमा सुत्केरी हुने सङ्ख्या शून्यमा झार्न यो कार्यक्रम ल्याइएको हो, ग्रामीण क्षेत्रका महिला सुविधा नहुँदा अस्पतालसम्म पुग्न सक्दैनन् । अस्पतालमा गएपछि खर्चिलो हुन्छ भन्ने गलत बुझाइलाई चिर्न सफल भएका छौँ ।’ नगरपालिकाले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई सञ्चालन गर्न दिएको छ । रेडक्रसले सुत्केरीलाई निःशुल्क बोक्नुपर्ने नीति बनाइएको छ।
प्रयोग भएको रगतको आधारमा लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकासँगको सम्झौतानुसार रेडक्रसले सुत्केरी मात्र नभई टीकापुरबासी सबैलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ । रेडक्रसले अहिलेसम्म १२५ सुत्केरीसहित २५३ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रसले एक व्यक्तिलाई दुई पिन्टसम्म रगत निःशुल्क दिने गरेको रेडक्रस उपशाखा टीकापुरका रक्त सञ्चार संयोजक टेकराज बिनाडीले बताए ।
Leave a Reply