हेल्थ टुडे,
काभ्रे,२ जेठः स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध काभ्रे जिल्लामा सचेतना अभियान कार्यक्रम सुरु गरेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो ।
केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बर्डफ्लु रोगविरुद्धको सचेतना कार्यक्रम पाँचखाल नगरपालिकाबाट शुरु गरिएको जानकारी दिए । उनका अनुसार सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रमले पाक्दा पनि यदि मासुमा कुनै पनि भाइरस भए पनि मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा सचेतना गराइएको छ । शाहले जिल्लाका ३५० किसान व्यावसायिक रुपमा कुखुरापालन गर्दै आएका जनाएका छन् ।
केन्द्रीय राजधानी काठमाडौँ लगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि केन्द्रले गत चैत अन्तिम सातादेखि कुखुरापालक किसानलाई जैविक–सुरक्षा (बायो–सेक्युरिटी) सचेतना अभियान सञ्चालन गर्दै आएको थियो । केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक) को निर्देशनमा गत चैत दोस्रो साता काभ्रेपलाञ्चोकको तीनवटा नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा जाँच चौकी राखिसकेको छ ।
जाँच चौकीमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको छ ।
Leave a Reply