हेल्थ टुडे,
काठमाडौ,बैशाखः सरकारले शुक्रबार ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्पूर्ण नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउनेदेखि वीर अस्पताललाई भक्तपुरमा सार्ने लगायतका स्वास्थ्य क्षेत्रका विषय समेटिएका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराईने उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष भक्तपुरको दुवाकोटमा वीर अस्पतालको अत्याधुनिक भवननिर्माण कार्य सुरु गरिने उल्लेख छ।
यस्तै, आगामी आर्थिक वर्षभित्र चिकित्सक सेवा नपुगेका स्थानीय तहहरूमा कम्तीमा एक चिकित्सकको व्यवस्था गरिनेछ र सबै स्थानीय तहका सबै वडाहरूबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ । नीति तथा कार्यक्रममा प्राथमिक अस्पतालहरूमा टेलिमेडिसिन तथा दूरचिकित्सा शिक्षा पद्धतिमार्फत् २४ घण्टे आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराईने विषय समेटिएको छ । प्रत्येक प्रदेशको कम्तीमा एक अस्पतालबाट विशिष्टीसकृत स्वास्थ्य सेवा उपलब्ध गराई विशिष्टीकृत स्वास्थ्य सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गरिने उल्लेख छ ।
केन्द्रीय स्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त राष्ट्रिय निदान केन्द्रको रूपमा स्तरोन्नाति गरिने, तीन वर्षभित्र सातै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरू सञ्चानलनमा ल्याईने र वीर अस्पताललाई अन्तराष्ट्रिय गुणस्तरका सबै विशिष्टीकृत सेवासहितको उत्कृष्टताको केन्द्रको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, नीति तथा कार्यक्रममा नसर्ने तथा दीर्घ रोगको पहिचान तथा रोकथामका लागि ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउने उल्लेख छ ।
सरकारले पाठेघरको मुखको क्यान्सर (सर्भाइकल) रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने भएको छ। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने, महिनावारी नभएका ९ देखि १३ वर्ष उमेरसम्मका किशोरीहरुलाई सर्भाइकल क्यान्सरविरुद्धको खोप लगाईने, महिलाहरुमा बढ्दो स्तन र सर्भाइकल क्यान्सरजस्ता रोगको शीघ्र पहिचानको लागि निःशुल्क परीक्षण गरिने र एक प्रदेशमा एक शिविर सञ्चालन गर्ने उल्लेख छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै,पश्चिम तराईमा स्वास्थ्य समस्याको रूपमा रहेको सिक्कल– सेल एनिमिया रोगको रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, लामखुट्टेको टोकाइबाट फैलिने रोग नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चालिने, दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिने, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार विकास गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
Leave a Reply