हेल्थ टुडे,
काठमाडौ,२६ बैशाखः बेवारिसे र असहाय मानसिक रोगीको उपचार खर्च अब सरकारले नै व्यहोर्ने भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई आर्थिक वर्षको बजेटभित्रै रहेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो ।
बेवारिसे र असहाय मानसिक रोग लागेका बिरामीले उपचारको प्रतिदिन ६ सयसम्म र औषधिको मासिक चार हजारसम्म खर्च पाउनेछन् ।
उपचार व्यवस्था सीधै अस्पतालले गरेको भए दैनिक अस्पताललाई ६ सय र पुर्नस्थापना केन्द्रमार्फत भएको भए दैनिक पाँच सय दिने व्यवस्था गरिएको छ ।
औषधिको रकम भने उपचारमा संलग्न मनोचिकित्सकको प्रेस्क्रिप्सनअनुसार वा गैरसरकारी, निजी अस्पताल, पुर्नस्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था तथा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलका आधारमा मात्रै प्राप्त हुनेछ ।
अशक्त, असहाय र बेवारिसे मानसिक रोग वा मनोसामाजिक समस्या भएकाहरूको उपचार तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ सरकारबाट स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको हो ।
मानसिक तथा मनोसामाजिक समस्या भएका बिरामीको तथ्यांक संकलन गरेपछि सहयोग रकम वितरण हुनेछ ।
Leave a Reply