हेल्थ टुडे,
काठमाडौ,२७ बैशाखः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंले फेरी सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगर्त प्रहरीले आगामी आईतबार अर्थात बैशाख २९ गतेदेखि काठमाडौँ उपत्यकाका ११ वटा अस्पताल वरपर १०० मिटरसम्मको क्षेत्रमा सुर्तीजन्य पदार्थ निषेध गर्ने भएको छ ।
प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न १० सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान र बेच्न निषेध लगाउने तयारी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, किर्तिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन र सेवन निषेध गरिएको हो ।
अस्पतालको एक सय मिटर वरपर बेचबिखन गर्नसमेत रोक लगाइने काठमाडौं परिसरले जनाएको छ । आईतबारदेखि सेवन तथा बेचबिखन गरे पहिलो पटक सम्झाइ बुझाइ गर्ने र दोहोर्याएर त्यस्ता काम गरे एक सय रुपैयाँ जरिवाना गरिने प्रहरीले जनाएको छ । पहिलो चरणमा सरकारी अस्पतालमा यो नियम लागू गरिएको र अर्को चरणमा निजी अस्पतालमा समेत यो नियम लागू गरिने प्रहरीले जनाएको छ ।
Leave a Reply