हेल्थ टुडे,
ललितपुर,३० बैशाखः ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएकाले महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको हो । अस्पताल निर्माणका लागि महानगरपालिकाले जग्गा पहिचान समेत गरिसकेको छ।
यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको वडा नं २७ (साविक सुनाकोठी गाविस) मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरपालिकाले जनाएको छ । उक्त स्थानमा झण्डै १७ रोपनी जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको महानगरपालिका कार्यालयले जनाएको छ ।
ललितपुर उपमहानगरपालिका भएदेखि नै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए । ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो। महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको छ ।
Leave a Reply