हेल्थ टुडे,
विराटनगर,३ जेठः विराट नर्सिङ होमको चरम लापरबाहीको कारण शल्यक्रियापछि १ सय जना बिरामी सिकिस्त भएका छन् । विराट नर्सिङ होममा असोजयता पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गराएका बिरामीहरू संक्रमण भएर उपचारका लागि धाइरहेका छन् । पुस दोस्रो साता विराट नर्सिङ होममा दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएकी झापा, शान्तिनगर ७ की राधा निरौलाको घाउ अझै निको भएको छैन । डा.आरके साबुले राधाको पेटमा चारवटा प्वाल पारेर दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए ।
‘शल्यक्रिया गरेको अढाई महिना नबित्दै चारवटै प्वालमा घाउ भयो,’ राधाले भनिन्,‘चिकित्सकलाई देखाउँदा इन्फेक्सन भयो भनेर फेरि शल्यक्रिया गरियो ।’ त्यसपछि एक महिनासम्म घाउमा ड्रेसिङ गराएको उनले बताइन् । ‘अहिले फेरि चारवटै प्वालमा गाँठा पलाएको छ,’ उनले भनिन्, ‘चिकित्सकले गाँठामै २० वटा इन्जेक्सन लगाए । एक महिनाको खाने औषधि दिएका छन्, गाँठा हराएको छैन ।’ छातीतिर अरू गाँठा पलाउन थालेको उनले बताइन् । दुई लाख रुपैयाँ खर्च भइसक्दा रोग बिसेक हुनुको साटो झन् दुःख पाएको उनको गुनासो छ ।
विराटनगर महानगरपालिका ३ की ५५ वर्षीया सीता बस्नेतको पनि राधाकै जस्तो समस्या छ । उनको पनि विराट नर्सिङ होममा असोजमा डा.साबुले दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए ।‘ढुंगा निकालेको पाँच महिनापछि घाउ साह्रै दुख्यो,’ सीताले भनिन्,‘उनै चिकित्सकलाई देखाउँदा भिडियो एक्सरे गर्न लगाए । त्यसले भित्र मासु पलाएको देखाएको छ ।’ ‘डाक्टरले घाउमा इन्फेक्सन भएको भन्दै दोस्रो अप्रेसन गरे । ‘त्यसपछि घाउमा गिर्खा देखा पर्न थाल्यो,’ उनले भनिन्,‘गिर्खामा २० वटा इन्जेक्सन हानियो ।’ सीताका अनुसार यति गर्दा अहिलेसम्म झन्डै पौने दुई लाख रुपैयाँ खर्च भएको छ ।
विराटनगरकै दुर्गाबहादुर कार्कीको पनि असोजमा त्यही नर्सिङ होममा डा. साबुले दूरबिनबाट पेटमा तीनवटा प्वाल पारेर एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए । उनको पनि पीडा राधा र सीताकै जस्तो छ । शल्यक्रिया गरेको डेढ महिना नबित्दै तीनवटै प्वालबाट पिप आउन थाल्यो । त्यसपछि उनी थप उपचारका लागि दिल्ली पुगे । घाउ अझै निको भएको छैन । कार्कीले घाउ पुनः डा.साबुलाई देखाए । साबुले इन्फेक्सन भएको भन्दै दोहोर्याएर अप्रेसन गरे । दोस्रो अप्रेसनपछि पनि निको नभएपछि घाउमै इन्जेक्सन लगाउन सुझाव दिए ।‘डरले लगाएको छैन,’ उनले भने,‘एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा अढाई लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो । धेरै दुःख पाइयो तर घाउ बिसेक भएको छैन ।’
यो नर्सिङ होममा डा.साबुबाटै दूरबिनबाट पित्तथैलीको शल्यक्रिया गराएका चिकित्सक भानु साह पनि यस्तै पीडा भोगिरहेका छन् । कोसी अञ्चल अस्पतालका रेडियोलोजिस्ट साहले दुई महिनाअघि डा. साबुबाटै दूरबिनबाट पित्तथैलीको ढुंगा निकालेका थिए । शल्यक्रिया गरेको एक महिना नबित्दै इन्फेक्सन भयो । एक सातादेखि काठमाडौंको मेडिसिटी अस्पतालमा थप उपचार गराइरहेका उनले भने,‘आफैं चिकित्सक भएर पनि दूरबिनबाट शल्यक्रिया गराउँदा भएको इन्फेक्सनको पीडा भोगिरहेको छु ।’ उनका अनुसार हाल एन्टिबायोटिक औषधि चलाइएको छ ।
यो नर्सिङ होममा असोजयता दूरबिनबाट पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गराएका मध्ये सय जना यस्तै पीडा भोगिरहेका छन् । उनीहरू घाउमा इन्फेक्सन भएपछि पुनः उपचारका लागि धाइरहेका छन् ।
पछिल्लो समय दूरबिनबाट गरिएका शल्यक्रियामा ‘एटिपिकल माइक्रो ब्याक्टेरिया इन्फेक्सन’ देखा परेको डा. साबुले स्विकारे ।‘पछिल्लो समय यस्तो इन्फेक्सनले निकैलाई सताएको छ,’ उनले भने,‘यो इन्फेक्सन बाहिर छालामामात्र देखिएको छ । भित्री भागमा छैन ।’ उनका अनुसार एपेन्डिसाइटिसका बिरामीको शल्यक्रिया गर्दा तीनवटा प्वाल पारिन्छ । पित्तथैली र पाठेघरका बिरामीको पेटमा चारवटा प्वाल पारिन्छ । त्यसबाट दूरबिन छिराइन्छ । दूरबिनले भित्रको अवस्था कम्प्युटर स्क्रिनमा देखाउँछ । अनि त्यसमा हेरेर चिकित्सकले शल्यक्रिया गर्ने उनले बताए ।
अस्पताल प्रशासनका अनुसार पित्तथैली, एपेन्डिसाइटिस र पाठेघरको शल्यक्रिया गर्नुपर्ने बिरामी दैनिक ५ देखि ७ जनासम्म हुन्छन् । गत असोज महिनायता यो प्रविधिबाट शल्यक्रिया गरिएको हो । त्यसरी शल्यक्रिया गरिएकामध्ये करिब सय जनामा संक्रमणको समस्या देखिएको छ ।(कान्तिपुर दैनिकबाट)
Leave a Reply