हेल्थ टुडे,
चितवन,५ जेठः गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि चितवनको इच्छाकामना–३ दारेचोकका बासिन्दा खुशी भएका छन् । गएको शुक्रबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएपनि दारेचोकका स्थानीय गाउँमै स्वास्थ्य सेवा पाउने भएका हुन् । सो गाउँपालिका–३ का स्थानीय रामबहादुर गुरुङले पहिलोपटक गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशीको सीमा नरहेको बताए ।
सामान्य चोटपटक लाग्दा र टाउको दुख्दासमेत तीन घण्टा हिँडेर कुरिनटार वा मुग्लिन जानुपर्ने यहाँका बासिन्दाको बाध्यता थियो । अहिले गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि उक्त बाध्यता पनि हटेको छ । गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले स्वास्थ्य सेवा नपुगेका सबै दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिने कार्यक्रमअन्तर्गत यस वडामा सो एकाइ स्थापना गरिएको र अन्य वडामा पनि चाँडै स्थापना गरिने जानकारी दिर्यन् ।
चितवनको एक मात्र यस गाउँपालिकाका बासिन्दा भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए । वडा–वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि राहत महसुस गर्न थालेका छन् । पच्चिस हजार जनसङ्ख्या रहेको यस गाउँपालिकामा सीमान्तकृत चेपाङ र जनजातिको बाहुल्यता छ ।
Leave a Reply