हेल्थ टुडे,
सुर्खेत,७ जेठः प्रदेशमा अन्धोपन निवारणको लागि कर्णाली प्रदेशमा आँखाका बिरामीहरुको तथ्याङ्क संकलन गर्ने कार्य सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा सुर्खेत आँखा अस्पताल, हिमालय आँखा अस्पताल, राप्ती आँखा अस्पताल र फत्तेवाल आँखा अस्पतालले तथ्याङ्क संकलन सुरु गरेका हुन् ।
निको हुने अन्धोपन निवारणका लागि पहिलो पटक प्रदेश स्तरीय सर्वे थालिएको सुर्खेत आँखा अस्पतालले जनाएको छ । प्रदेशका १० जिल्लाका १ सय १७ स्थानमा तथ्याङ्क संकलन गरिने बताइएको छ । आगामी चार महिनाभित्र कार्य सक्ने गरी कर्णालीमा अन्धोपनको कारण, संख्या, हटाउन सकिने उपाय, मोतियाविन्दुका बिरामीको संख्या, अप्रेशन गर्नुपर्ने संख्यालगायतका बिरामीहरुको तथ्याङ्क संकलन गरिनेछ ।
तथ्याङ्क संकलनका लागि खटिने कर्मचारीहरुका लागि तालिमसमेत सुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सोमबार तालिमको उद्घाटन गर्दै कर्णाली प्रदेशमा आँखासम्बन्धी रोगको वास्तविक तथ्याङ्क आउने विश्वास व्यक्त गरेका छन् ।
Leave a Reply