हेल्थ टुडे,
काठमाडौ,८ जेठः सरकारले आगामी ५ वर्षभित्र पूर्ण रुपले सञ्चालनमा आउनेगरी बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज निर्माणको कामलाई तिव्रता दिएको छ । सरकारले आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र पूर्ण रुपमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिएको छ । सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागिएको हो ।
बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ भने सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढाउने सरकारको तयारी छ । बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माणका लागि जग्गा पहिचान भइसकेको छ । चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य अनुसार बर्दिवास, सुर्खेत र बुटवलमा तीव्र गतिमा काम भइरहेको हो । डीपीआरको काम साउनबाट सुरु गरेर कात्तिकसम्म सक्ने लक्ष्य लिइएको छ ।
मेडिकल कलेज सञ्चालनको लागि सरकारले प्रारम्भिक चरणमा प्रत्येक वर्ष तीनवटै मेडिकल कलेजको लागि १०–१० करोड रुपियाँ छुट्याइएको छ । जग्गासम्बन्धी सर्भे, ईआईए, मास्टरप्लान, डीपीआर, कार्यालय स्थापना लगायतका कामका लागि सरकारले उक्त रकम छुट्याएको हो । हाललाई मेडिकल कलेजको कुनै पूर्वाधार नभएकोले विश्वविद्यालय अनुदान आयोगमार्फत उक्त रकम छुट्याइएको हो ।
मेडिकल कलेज सञ्चालन कार्यविधि यसअघि नै मन्त्रीस्तरीय निर्णय गरी अघि बढेको छ । मन्त्रिपरिषद्ले तीन जना अधिकृत, तीनजना सहायक र एकजना श्रेणीविहीन कर्मचारीको दरबन्दी पनि स्वीकृत गरिसकेको छ । गत चैत ८ गते बुटवल र वैशाख १८ गते वर्दिवास मेडिकल कलेजको शिलान्यास समेत भइसकेको छ । यता बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम पनि तीव्र रुपले अघि बढिरहेको छ । आगामी आर्थिक वर्ष भित्र डीपीआर तयार गरिसक्ने तयारी भईरहेको छ ।
Leave a Reply