हेल्थ टुडे,
दार्चुला,१० जेठः दार्चुला जिल्लामा कार्यरत जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । आफ्नो स्वास्थ्यप्रति पूर्ण जिम्मेवारी रहने भन्दै उनीहरुले दशबुँदे प्रतिबद्धताअन्तर्गत यस्तो प्रतिबद्धता जनाएका हुन्।
स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफै लिन दश बुँदे प्रतिबद्धता जनाएका हुन् ।
दश वटा प्रतिबद्धताअन्तर्गत म स्वस्थ्य र पोषिलो खाना खान्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म नियमित व्यायाम गर्छु जस्ता प्रतिबद्धता गरिएको छ । यस्तै म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियमको पालना गर्छु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु तथा म स्वास्थ्यलाई प्रतिकूल हुने खालका बालविवाह छाउपडी जस्ता सामाजिक कुरीति, कुसंस्कारहरु अनुसरण गर्दिन जस्ता प्रतिबद्धता गरिएको छ।
यसैगरी म हिंसा तथा भेदभाव गर्ने छैन, कसैले हिंसा तथा भेदभाव गरेको थाहा पाएमा त्यसको प्रतिकार गर्नेछु भन्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्। यस्तै कार्यक्रममा सहभागी जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीहरुको रक्तचाप परीक्षण गरिएको छ। मर्निङ वाक गराएपछि उनीहरुको रक्तचापको अवस्था बुझ्नका लागि कार्यक्रमका सहभागीहरुको रक्तचाप परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले जानकारी दिए ।
Leave a Reply