हेल्थ टुडे,
काठमाडौ,१० जेठः सरकारी अस्पतालहरुले नै अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को वेवास्ता गरिरहेका छन् । निर्देशिकामा अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था भए पनि सरकारी अस्पतालले उक्त व्यवस्था उल्लंघन गर्दै आएका छन् । सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालनमा नल्याउँदा बिरामी निजी अस्पतालबाट चर्को मूल्य तिरेर औषधि किन्न बाध्य छन् । सरकारी अस्पतालका फार्मेसीमा समयमै औषधि नपाउने समस्या देखिएको छ । वीर अस्पताल, टिचिङ, गंगालाल हृदयरोग केन्द्र र निजामती अस्पतालका फार्मेसीमा सबै प्रकारका औषधि उपलब्ध छैन । हाल देशभरमा ३ हजार ८ सय ५ वटा स्वास्थ्य चौकी, १ सय ५८ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ केन्द्रीय अस्पताल र ८४ जिल्ला अस्पताल छन् ।
स्वास्थ्य सेवामा सवैको पहुँच सुनिश्चित गर्न र दक्ष जनशक्तिमार्फत अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी सेवा पु¥याउन सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरेको छ । फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा निर्देशिकाबमोजिम सुलभ रूपमा सबै प्रकारका औषधि र दक्ष जनशक्तिको अभाव छ । महाकाली अञ्चल अस्पताल कञ्चनपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, सुनसरी जिल्ला अस्पताललगायतका अस्पतालले फार्मेसी सेवा सञ्चालन नगरेको महालेखापरीक्षकको ५६औं प्रतिवेदनमा समेत उल्लेख छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा निर्देशिकाबमोजिम सुलभ रूपमा सबै प्रकारका औषधि र दक्ष जनशक्ति व्यवस्थापन भएको छैन् ।
चिकित्सकले तोकेको औषधि सरकारी फार्मेसीमा नपाउँदा बिरामी मर्कामा पर्ने गरेका छन् । तर, सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ मा भएको औषधि खरिद प्रक्रियासम्बन्धी व्यवस्थाका कारण सबै ब्रान्डका औषधि खरिद गर्न समस्या हुने अस्पताल प्रशासनको जिकिर छ । यस्तै, देशभरका सरकारी र निजी फार्मेसीमा फर्मासिस्ट र फार्मेसी सहायकसमेतको अभाव छ ।
औषधि ऐन २०३५ मा बिक्री तथा वितरण फार्मासिस्ट वा सहायक फार्मासिस्टबाट मात्र गरिनुपर्ने व्यवस्था छ । नेपाल फार्मेसी परिषद्का अनुसार हाल ७ हजार ६ सय ६७ जना फार्मेसी सहायक र ३ हजार ८ सय ७९ जना फर्मासिस्ट छन् । नेपाल फार्मेसी परिषद्मा ११ हजार ६ सय ४६ जना फर्मासिस्ट र फार्मेसी सहायकको नाम दर्ता भएको परिषद्को तथ्यांकमा उल्लेख छ । नेपालमा अहिले ४० हजार बढी फर्मासिस्ट र फार्मेसी सहायक आवश्यक रहेको बताइएको छ ।
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा एक सय शय्याभन्दा माथिका अस्पतालमा तीनजना फर्मासिस्ट, ६ जना फार्मेसी सहायक र दुईजना सहयोगी राख्नुपर्ने व्यवस्था छ । यस्तै, २६ शय्यादेखि ५० शय्यासम्मका अस्पतालमा एकजना फर्मासिस्ट, दुईजना फार्मेसी सहायक र एकजना सहयोगी हुनुपर्ने उल्लेख छ । यस्तै, निर्देशिकामा १५ देखि २५ शय्यासम्मका अस्पतालमा दुईजना फार्मेसी सहायक र एकजना सहयोगी हुनुपर्ने व्यवस्था छ । तर,निर्देशिकामा उल्लेख भएका कुनै पनि मापदण्डको कुनैपनि सरकारी अस्पतालले कार्यान्वयन गरेको छैन् ।
Leave a Reply