हेल्थ टुडे,
काठमाडौं, ६ असार: नेपालमा पहिलो पटक स्वास्थ्य अधिकार वर्ष २०१९ पुस्तक लोकापर्ण भएको छ । शुक्रबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष अनुपराज शर्माले पुस्तक लोकापर्ण गरेका हुन् । प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र (रेस्पेक) ले ४८ जिल्लाका २ हजार ५ सय १६ जनाबाट स्वास्थ्य सेवाका बिषयमा प्रतिकृया लिएर स्वास्थ्य अधिकार वर्ष पुस्तक तयार पारिएको हो । पुस्तकमा सरकारले निशुल्क प्रदान गर्ने सेवाको अवस्थालाई मुख्य केन्द्रबिन्दू बनाइएको छ । रेस्पेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले अधिकांश सरकारी स्वास्थ्य संस्थामा सरकारले निशुल्क प्रदान गर्ने भनेको निशुल्क औषधि उपलब्ध नभएको, प्रसूति भएपछि पाउनु पर्ने यातायत खर्च नपाइने गरेको, उपचारमा जातिय भेदभाव हुने गरेको, स्वास्थ्य विमाका बिषयमा जानकारी नहुनु र एचआईभी संक्रमितको उपचारमा भेदभाव हुने गरेका जस्ता समस्या पुस्तकले औल्याएको बताए । राज्यको सेवा प्रति जनताको विश्वास घट्दै गइरहेको पाइएको मुल्मीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको बताउदै यसले निरन्तरता पाउनु पर्नेमा जोड दिए । सरकारी स्वास्थ्य संस्थाहरुले प्रदान गरिरहेको सेवामा भएका कमिकमजोरी भविश्यमा कम गर्दै जाने श्रेष्ठले बताए । सासंद पार्वता डिसी चौधरीले संविधानले नै स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा ग्यारंटी गरिएको बताउँदै सरकारले यसलाई ध्यान दिनु पर्ने बताइन । राष्ट्रिय महिला आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा लेखिएका मौलिक हक बमोजिम जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको बताए । रेस्पेकका अध्यक्ष प्रा. डा. शरद वन्तले पहिलो पटक निशुल्क स्वास्थ्य सेवाका बिषयबस्तु समेटेर पुस्तक प्रकाशन गरिएको जानकारी गराउदै अगामी वर्षदेखि स्वास्थ्यका अन्य बिषयबस्तुलाई पनि समेटने बताए । यो वर्ष अंग्रेजी भाषामा प्रकाशित पुस्तक आउदो बर्ष नेपाली भाषामा समेत प्रकाशित गरिने डा. वन्तले बताए ।
Leave a Reply