हेल्थ टुडे,
काठमाडौ,१० असारः ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा एक किशोरीको दुवै स्तनमा रहेको ट्युमरको बिनाशल्यक्रिया सफल उपचार भएको छ । १६ वर्षीया ती किशोरीको दुवै स्तनमा रहेको ट्युमरको बिनाशल्यक्रिया नयाँ प्रविधिबाट सफल उपचार भएको हो । किशोरीको दुवै स्तनमा रहेको ट्युमरलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’बाट सफल उपचार गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।
अस्पतालका वरिष्ठ सर्जन डा. सुनिल कुमार शर्मा ढकाल, इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओम बिजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपुर्व शर्माको टोलीले माइक्रोवेभ एब्लेसन प्रक्रियाबाट उनको उपचार गरेका हुन् । ती १६ वर्षीया किशोरीको बाँया स्तनमा ३ र दायाँ स्तनमा ४ स्थानमा फाइब्रोडेनोमा अर्थात ट्युमर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ । बिनाशल्यक्रिया स्तनको ट्युमरका लागि भएको यो उपचार पद्धती सम्भवतः नेपालमा पहिलो भएको अस्पतालले जनाएको छ । माइक्रोवेभ एब्लेसन प्रविधिबाट कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थानका ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूमरको उपचार गर्न सकिने चिकित्सकहरुले बताएका छन् । तीन साताअघि मात्रै मेडिसिटी अस्पतालमा २० वर्षीय युवकको फोक्सोको ट्यूमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात बिना शल्यक्रियाबाट उपचार गरिएको थियो । अस्पतालले यो उपचार प्रक्रिया पनि नेपालमा पहिलो पटक शुरु भएको दावी गरेको छ । सामान्यतः एब्लेसन भन्ने बित्तिकै तातो, चिसो या कुनै औषधि ट्युमर भएको ठाँउमा राखेर मार्ने पद्धति हो। यो प्रक्रियामा ट्युमर सेल त्यहि मर्छ। मरिसकेको सेललाई शरिरले सोस्ने गर्छ। यसरी उपचार पछि सम्भवतः ट्युमरको समस्या देखिदैन ।
इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओम बिजु पन्तका अनुसार यस पद्धतिमा चिरेर गर्नुपर्ने शल्यक्रियाको आवश्यकता पर्दैन । यसमा सुईको प्रयोगबाट निराकरण गर्न सकिन्छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सानो खालको ५ सेन्टिमिटर आकारसम्मका ट्युमरको यो पद्धतिबाट उपचार गर्न सकिन्छ । एब्लेसन गरिसकेपछि बिरामीलाई एक–दुई दिन सामान्य दुखाइ हुने र कहिलेकाँहि ज्वरो आउने हुन्छ । यो पद्धतिबाट उपचार गरिएका बिरामीलाई धेरै दिनसम्म अस्पतालमा राख्नु नपर्ने चिकित्सकले बताएका छन् ।
दुवै स्तनमा रहेको ट्युमरको ‘बिनाशल्यक्रिया’ सफल उपचार

Leave a Reply