हेल्थ टुडे,
एजेन्सी,असारः पछिल्लो समय स्वास्थ्य सम्बन्धि गरिएका थुप्रै अनुसन्धान र अध्ययनहरुमा बसिरहने किसिमको जीवनशैली, विशेषगरी कम्प्युटरमा बसेर काम गर्नेहरु स्वास्थ्य सम्बन्धी ठूलो जोखिममा रहने गरेको दाबी गरिएको छ । तर जर्नल अफ अमेरिकन हार्ट एशोसिएशनले प्रकाशित गरेको नयाँ अध्ययनमा भने सबै प्रकारको बसाइ समान रुपमा हानिकारक नहुने गरेको उल्लेख गरेको छ । अध्ययनअनुसार बसेर टीभी हेर्नु र काम गर्नुबीच ठूलो फरक हुन्छ । अर्थात बसेर खालि समयमा टीभी हेरिरहनाले जति हाम्रो हृदय र आयुलाई नकारात्मक प्रभाव पारिरहेको हुन्छ, त्यति असर बसेर काम गर्दा पर्दैन ।
केही समय अगाडिदेखि नै बसिरहनुलाई नयाँ प्रकारको धुम्रपानको संज्ञा दिइएको अध्ययनका प्रमुख तथा युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडास्थित खेलकुद र एक्सरसाइज विज्ञानकी असिस्टेन्ट प्रोफेसर जिनेट ग्रासिया बताउँछिन् । उनले भनेकी छन्ः‘ तर सबै बसाइको प्रभाव एउटै हुँदैन । हाम्रो अनुसन्धानको नतिजाबाट हामीले खालि समयमा टिभी हेरेर बस्नु , कामका कारण बसिरहनु भन्दा धेरै जोखिमयुक्त हुने गरेको पत्ता लगाएका छौँ ।’
यसका लागि अनुसन्धान टोलीले तीन हजार ६०० अफ्रिकन अमेरिकन वयश्कहरुमाथि अध्ययन गरेको हो जसमा उनीहरुले बसेर बिताउने समय, जस्तै काम गर्दा बस्नेदेखि टीभी हेर्दा बस्ने र शारीरिक व्यायाम गर्ने समयबारे जानकारी लिइएको हो । यसमा प्रत्येक व्यक्तिको जीवनशैली र स्वास्थ्यको इतिहासलाई पनि समावेश गरिएको थियो । यसरी लगातार आठ वर्षसम्म सहभागीहरुको डाटा संकलन गर्दा १२९ मा मुटु सम्बन्धी समस्या देखा परेको हो भने २०५ जनाको मृत्यु भएको पाइएको थियो ।
यसक्रममा उनीहरुले बसिबसि काम गर्नु नै सधैँ ह्दय सम्बन्धी समस्या वा अल्पकालीन मृत्युको कारण नहुने गरेको पत्ता लगाएका हुन् । अर्कोतर्फ चार वा अधिक घण्टा खालि बस्ने वा टीभी हेर्नेहरुमा भने दुई घण्टाको तुलनामा मुटु सम्बन्धी रोगको जोखिम ५० प्रतिशत भन्दा बढी रहेको पाइएको हो । यसरी अफ्रिकी अमेरिकीहरुमा गरिएको यो अनुसन्धान विश्वव्यापी जनसङ्ख्यामा लागू हुने ग्रासियाको भनाइ छ । तापनि शारीरिक रुपमा सक्रिय मानिसहरु बसेर काम गर्नेहरुमा फरक अवस्य हुने बताइएको छ ।
तर बसेर काम गर्नुपर्ने मान्छेहरु आफ्नो जीवनशैली र स्वास्थ्यप्रति बढी सतर्क हुने हुँदा उनीहरुले कार्यालय बाहिर नियमित एक्सरसाइज गर्ने र धेरै कमाउने हुँदा स्वस्थ खाना बढी खाने र भारी मात्रामा धुम्रपान वा मदिरापान नगर्ने सम्भावना प्रबल हुन्छ ।अर्कोतर्फ शारीरिक रुपमा धेरै खट्नुपर्ने कामदारहरुको स्वास्थ्य चाहिँ थकानका कारण कमजोर हुन सक्ने पनि बताइएको छ ।
साथै खालि समयमा बस्नुले अन्य नकारात्मक बानी सिर्जना गर्ने हुनाले पनि यसले तुलनात्मक रुपमा बढी नोक्सान गर्ने बताइएको छ । जस्तै टिभी हेरिरहँदा मान्छेमा जंक फुड पनि सँगै सेवन गरिरहने बानी पर्न सक्छ । त्यस्तै कोही व्यक्ति फिल्म हेरिरहेका बेला उसलाई उठ्न मन लाग्दैन तर बसेर काम गर्नेहरु भने सहकर्मीसँग कुरा गर्न, पानी पिउन लगायत विभिन्न कामले प्रत्येक घण्टामा एकदुईपटक उठेकै हुन्छन् । तापनि शरीर स्थिर रहनु भन्दा हलचल गरिरहनु नै राम्रो हुन्छ । तर बसेर काम गर्नेहरुले केही न केही बाहानाबश् थोरै भएपनि दैनिक शारीरिक क्रियामा संलग्न भए उनीहरु डराउनु नपर्ने ग्रासिया बताउँछिन् ।(टाइमबाट साभार)
Leave a Reply