हेल्थ टुडे,
काठमाडौ,१९ असारः क्षयरोगको किटाणु पत्ता लगाउने कीट ‘जिन एक्सपर्ट कार्टेज’को देशभर चरम अभाव भएको छ । यो कीटले खकारको जाँच गरी क्षयरोगको किटाणु छ कि छैन भनेर पत्ता लगाउँछ । उक्त जाँचपछि क्षयरोग पत्ता लागेमा दिइने एउटा महत्वपूर्ण औषधि ‘रेफाम पेसिन’ ले काम गर्ने हो वा होइन भनेर पनि उक्त किटले नै पत्ता लगाउँछ ।
देशैभरि उक्त कीटको अभाव हुँदा बिरामीको सेवा प्रभावित भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भीमसिंह तिंकरीले कार्टेज अभाव भएपछि केन्द्रले ग्लोबल फन्डसँग आकस्मिक अर्डर गरेको जानकारी दिएका छन् । उनका अनुसार नेपालमा वार्षिक एक लाख २० हजार कार्टेज आवश्यक पर्ने गरेको र तत्कालका लागि १० हजार कार्टेज अर्डर गरिएको छ ।
केन्द्रले बजेट अभावका कारण आवश्यकता बढी भएपनि गतवर्ष पनि ७० हजार कार्टेज मात्रै किनेको थियो । जसको कारण पनि कीटको अहिले अभाव देखिएको केन्द्रको भनाइ छ। नेपालमा हरेक वर्ष ४५ हजारभन्दा बढी क्षयरोगका बिरामी थपिने गर्छन्। क्षयरोगका कारण नेपालमा हरेक वर्ष करिब ७ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ ।
Leave a Reply