हेल्थ टुडे,
काठमाडौ,असारः मनसुन सुरुभएसंगै हरेक वर्ष उपत्यकालगायतका शहरी क्षेत्रमा डेङ्गुको डर सुरु हुन्छ । डेङ्गु रोग प्रायः मनसुन सुरु भएपछि देखिने गर्छ । पानी परेसँगै सडकमा रहेका खाल्डाखुल्डीदेखि घरको छतछतमा पानी जम्ने हुँदा लामखुट्टेका लागि प्रजनन सहज हुन्छ । लामखुट्टेको संख्या वृद्धि भएसँगै डेङ्गु फैलिन सक्ने सम्भावना निकै बढी हुन्छ । अघिल्लो वर्षसम्म मनसुन सुरु भएपछि नै डेङ्गुको सङ्क्रमण फैलिएको थियो । सरकारले पनि मनसुन सुरु भएपछि नै यो समस्या देखिने भएको हुँदा यो विषयमा खासै हतारो देखाएन । तर यसपटक डेङ्गुको संक्रमण फैलिन मनसुन पर्खनु परेन ।
नेपालमा मनसुन शुरु हुनअघि नै सुनसरीको धरानमा डेङ्गुको सङक्रमण फैलियो । धरानमा वैशाखमै डेङ्गु देखिएपछि विज्ञहरु नै अचम्ममा परेका छन् । डेङ्गुको नियन्त्रणको पूर्व तयारीमा काम गरिरहेको बेलामा रोग नै फैलिएपछि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले वैशाखमा नै डेङ्गुको सङक्रमण देखिनुको कारण खोतल्न थाल्यो ।
अध्ययनपछि महाशाखाले निश्कर्ष छ– धरानमा दैनिक पानी नआउने हुँदा स्थानीयले दैनिक प्रयोगको लागि बाल्टिन र गमलादेखि घरको छतमा ट्याङ्कीमा पानी जोहो गरेर राख्ने गरेका थिए र त्यही पानीमा लामखुट्टेले लार्भा पार्यो र त्यसैबाट डेङ्गु फैलियो । सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न थालेको विज्ञहरुको भनाई छ ।
काठमाडौ उपत्यका पनि डेङ्गुको जोखिममा रहेको छ । इपीडीमीयोलोजी महाशाखाका अनुसार उपत्यकामा अहिलेसम्म डेङ्गु देखिएको छैन । उपत्यकाको केही ठाउँमा डेङ्गुको सङक्रम देखिएको समाचारहरुको पनि महाशाखाले खण्डन गरेको छ । तरपनि डेङ्गु रोग फैलन सक्ने जोखिम भने रहेको महाशाखाले स्वीकार गरेको छ । भाडामा पानी थापेर राख्ने, राम्रोसँग फोहोर व्यवस्थापन नगरिने हुँदा उपत्यकामा पनि डेङ्गुको संक्रमण फैलन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उपत्यका लगायत पानीको अभाव भएको सबै शहरी क्षेत्रमा डेङ्गुको संक्रमण हुन सक्ने महाशाखाले जनाएको छ । डेङ्गु नियन्त्रणको लागि स्वास्थ्य क्षेत्रको तर्फबाट महाशाखाले काम गरे पनि खानेपानी र फोहोरमैलाको व्यवस्थापनसम्बन्धित निकायले गर्न नसकेको खण्डमा डेङ्गुको जोखिम कायम रहनेछ ।
Leave a Reply