हेल्थ टुडे,
मुगु,२२ असारः मुगुको खत्याड गाउँपालिकाले जनप्रतिनिधिले मदिरा सेवन गरे कारबाही स्वरुप २० हजार अशुल गर्ने निर्णय गरेको छ । गत वर्ष मदिरा निषेधित क्षेत्र घोषणा गरेको गाउँपालिकाले जनप्रतिनिधिमाथि निगरानी गर्दै उक्त निर्णय गरेको हो । गाउँपालिकाको हालै सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको हो। सभाले जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र सर्वसाधरणले मदिरा सेवन गरेमा आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो ।
गाउँपालिकालाई मदिरा रहित बनाउन मदिरा सेवन गरेमा जनप्रतिनिधिलाई २० हजार, कर्मचारीलाई १५ हजार र सर्वसाधरणलाई ६ हजार रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै अब गाउँपालिकाको क्षेत्रभित्र मदिरा र बिक्रि र बितरण गर्नेलाई १२ हजार नगद जरिवाना तोकिएको छ। शुक्रवारबाटै यो नियम लागू भइसकेको गाउँपालिकाले जनाएको छ ।
मदिरा निषेधित क्षेत्र घोषण गरे पनि लुकिछिपि मदिरा सेवन तथा बिक्रि बितरण हुने गरेको पाइएपछि आर्थिक जरिवाना तोकिएको हो। जनप्रतिनिधिले पहिलो पटक मदिरा सेवन गरेमा २० हजार र दोस्रो पटक भेटिएमा ४० हजार रुपैयाँ जरिवाना गरिनेछ । यस्तै गाउँपालिकामा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीले मदिरा सेवन गरेको पाइएमा पहिलो पटक भए १५ हजार र दोस्रो पटक पनि मदिरा सेवन गरे भविस्यमा स्थानीय सेवाबाट अयोग्य ठहर्ने गरी वर्खास्त गर्ने निर्णय गाउँपालिकाले गरेको छ।
सर्वसाधारणले सेवन गरेमा पहिलो पटक ६ हजार र पुनः भेटिएमा दोब्बर जरिवाना र त्यसपछि पनि भेटिएमा गाउँपालिका तथा वडाका कुनै पनि समितिमा नराख्ने र सबैखाले सेवा कटौती गरिने गाउँपालिकाले जनाएको छ ।
Leave a Reply