हेल्थ टुडे,
डोल्पा,२३ असारः हिमाली जिल्ला डोल्पामा एक महिनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएको छ ।केहिदिनयता टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका शैया बिरामीले भरिभराउ भएका छन् ।
बिरामीको चाप बढ्दै गएका कारण १५ शैयाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक महिनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि चिन्ताको विषय बनेको छ । डोल्पा जिल्ला अस्पतालका डाक्टर सिजन रावलले भनेः‘ अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ, यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।’
ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको भन्दै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको अस्पतालले जनाएको छ । बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थ्यकर्मी नै थला परेका छन् । यसैबीच,भाइरलको रूपमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक राखेको छ । प्रकोप नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालासहितको बैठक राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Leave a Reply