हेल्थ टुडे,
डडेल्धुरा,२६ असारः ड्युटीमा रहेका चिकित्सकमाथि डडेल्धुरा अस्पतालमा फेरी आक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै वडाअध्यक्ष नेतृत्वको टोलीले हातपात गरेको अस्पतालका चिकित्सकले जनाएका छन् । बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन्।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन्। प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११, सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पुर्याइएको थियो।
चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाइएको छ।
साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ। परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा जीवन खरेलले विज्ञप्तिमार्फत जनाएका छन्।
यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए। अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि रिफरल सेन्टर बनिरहेको छ ।
Leave a Reply