हेल्थ टुडे,
डोल्पा,२७ असारः डोल्पा जिल्लामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणबाहिर गएको छ । जिल्ला अस्पतालमा बिरामी चाप बढ्न थालेको र प्रयाप्त औषधि समेत नभएपछि टाइफाइड नियन्त्रण बाहिर गएको हो । बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पताल डोल्पामा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि मात्रै २१ जना बिरामीले बेडमै उपचार गराइरहेका थिए । दैनिक उपचार गराउन आएका चारदेखि पाँच जना बिरामीमध्ये दुईदेखि तीन जनालाई बेडमै राखेर उपचार गराउनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
बिरामी हुनेमा अधिकांश ठूलीभेरी नगरपालिका वडा नं २ र ३ का नागरिक रहेका छन् । अस्पतालमा पर्याप्त बेड नहुँदा १५ जनालाई बेडमा र १० जनालाई भुइँमै राखेर उपचार गराइरहेको अस्पतालका डाक्टर सिजन रावलले जानकारी दिए । बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत अस्पताल क्वाटरमा बस्दै आएका स्वास्थकर्मीको बेड ल्याएर उपचार गराईरहेका छन् । प्रकोप नियन्त्रणका लागि प्रदेश र केन्द्रमा समेत जानकारी गराइसकिएको डा.रावलले बताए । उनले दिनहुँ बिरामी बढ्दै गए टाइफाइडले ठूलो रुप लिनसक्ने खतरा रहेको भन्दै रोकथामका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने बताए । तीन दिनदेखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्जमै रोकिएको छ । बिरामीको चाप बड्दै गएकाले औषधि भने सकिन लागेको अस्पतालले जनाएको छ ।
यसैबीच,डोल्पामा फैलिँदै गएको टाइफाइडको प्रकोपले स्वास्थकर्मीसमेत थला परेका छन् । दैनिक टाइफाइडका बिरामीका उपचारमा लागि खटिएका एक दर्जन डाक्टर, नर्स र अन्य कर्मचारी आफैँ टाइफाइडले थलिएका हुन् । प्रत्येक दिन अस्पतालमा भर्ना हुने टाइफाइडका बिरामीसँगै अस्पतालाका स्वास्थ्यकर्मीसमेत थला पर्न थालेपछि उपचार गर्ने कर्मचारीहरूको समेत अभाव हुदै गएको छ ।
अस्पतालमा कार्यरत दुई जना चिकित्सकमध्ये डा भिमबहादुर बुढा बिरामी परेका छन् । त्यसैगरी परिचारिका दिलु बुढा, सिएमएम गङ्गा ओझा, अनमी पुष्पा ओली, झुमा हमाल, ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दिलीप रोकायालगायत एक दर्जन कर्मचारी बिरामी परेका छन् । टाइफाइडका कारण स्वास्थका कर्मचारी नै थला परेपछि उपचारमा समस्या भएको छ भने ओपीडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन् । जिल्लाका विभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डाक्टर रावलले जानकारी दिए ।
दूषित पानीका कारण रोग फैलँदै गएकाले पानी शुद्धिकरण गरेर मात्र खान चिकित्कले सुझाव दिएका छन् । टाइफाइडको प्रकोप नियन्त्रणका लागि जिल्ला उद्योग बाणिज्य सङ्घको पहलमा पानी शुद्धिकरणका लागि एक घरलाई एक महीना पुग्ने पियुस मगाएर वितरण गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । तीन दिनदेखि उडान नहुँदा पियुस नेपालगञ्जमा थन्किएको छ ।
Leave a Reply