हेल्थ टुडे,
एजेन्सी,२७ असारः संयुक्त राज्य अमेरिकाले मृगौला प्रत्यारोपणमा नयाँ नीति घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गरेका छन् । अमेरिकी सरकारले मृगौला प्रत्यारोपणमा नयाँ र सरल नियम ल्याउने समेत तयारी गरेको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट कृत्रिम मृगौला प्रत्यारोपणका लागि स्वीकृति प्राप्त भएमा स्वास्थ्य क्षेत्रमा थप प्रगति हुने अमेरिकी प्रशासनले जनाएको छ । स्वास्थ्य तथा मानव संशाधन मन्त्री अलेक्स अजारले राष्ट्रपतिको आदेशको मुख्य लक्ष्य नै सन् २०३० सम्ममा प्रत्यारोपणका लागि मृगौलाको संख्या वृद्धि गर्ने रहेको जानकारी दिए ।
राष्ट्रपतिको आदेशमा घरमै बसीबसी डायलासिस सेवा वृद्धि गर्ने योजनामा नविन प्रविधिको खोजी गर्नु पनि रहेको छ । मेडिकल सेन्टरमा उपचार गर्नुभन्दा घरमै कम खर्चिलो विधिबाट डायलासिस सेवा उपलब्ध गराउनु पनि राष्ट्रपतिको आदेशले जोड दिएको छ । राष्ट्रपति ट्रम्पले हाल करिब १२ प्रतिशतले मात्र घरमै डायलासिस सेवा लिइरहेको पनि जानकारी दिए ।
संयुक्तराज्य अमेरिकामा करिब तीन करोड ७० लाख मानिस मृगौला रोगबाट थलिएका छन् र त्यसमध्ये करिब सात लाख २६ हजार अन्तिम चरणको मृगौला रोगी रहेका छन् । करिब एक लाख अमेरिकीहरु मृगौला प्रत्यारोपणको पर्खाइमा रहेका र एक लाखभन्दा बढीले हरेक वर्ष डायलासिस सेवा आरम्भ गर्दछन् । अमेरिकी ह्वाइट हाउसको विवरण अनुसार डायलासिस सेवा शुरु गरेका आधाभन्दा बढीको पाँच वर्ष नपुग्दै मृत्यु हुने गरेको छ ।(रासस)
Leave a Reply