हेल्थ टुडे,
काठमाडौं, ३ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७५।०७६ मा सरकारको नीति तथा कार्यक्रममा परेका ६५ क्रियाकलापमध्ये ७९ प्रतिसत सम्पन्न गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै आर्थिक वर्ष २०७५।०७६ मा गरेका काम र प्राप्त उपलब्धी सार्वजनिक गरेको हो ।
सम्पन्न गर्नु पर्ने ६५ वटा क्रियाकलापमध्ये ५१ वटा सम्पन्न भइसकेको, १० वटा प्रगतिमा रहेको र ४ वटा मात्र हुन नसकेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । १५ सय शैय्याको अत्याधुनिक वीर अस्पताल भक्तपुरको दुवाकोटमा बनाउने, सात वटै प्रदेशमा ट्रमा सेन्टर खोल्ने, सबै स्थानिय तहमा एक एक जना कम्तिमा पनि एमविविएस डाक्टर पठाउने लगायतका महत्वपूर्ण काममा भने स्वास्थ्य मन्त्रालय चुकेको छ । मन्त्रालयले यसै आर्थिक वर्षमा स्वास्थ्य सम्बन्धी महत्वपूर्ण ८ वटा कानून बनाउन सफल भएको दाबी गरेको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६, जनस्वास्थ्य ऐन २०७५, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५,स्वास्थ्य विमा नियमावली २०७५ लगायतका ८ वटा महत्वपूर्ण कानून निर्माण गर्न मन्त्रालय सफल भएको सचिव थपलियाले बताए । सेवा प्रवाहमा समेत मन्त्रालयले उल्लेखनिय काम गरेको मन्त्रालयका अर्का सचिव डा. पुष्पा चौधरीले दाबी गरिन ।
क्यान्सर, मृगौला, मुटुरोग, हेड इन्जुरी, स्पाइनल ईन्जुरी, अल्जाइमर लगायतका १० वटा जटिल रोगको उपचारका लागि प्रति व्यक्ति एक लाखको दरले ३५ हजार ६ सयजनालाई उपचार सेवा उपलब्ध गराएको र त्यसका लागि २ अर्ब २० करोड खर्च भएको डा. चौधरीले जानकारी दिइन । निर्माणको क्रममा रहेका ७४४ स्वास्थ्य संस्थाहरुमध्ये २१४ वटा भवन निर्माण सम्पन्न भएको र एक हजार दूई सय वडाहरुमा स्वास्थ्य संस्था निर्माणका लागि आवश्यक अनुदान स्थानिय निकायमा पठाईसकिएको सचिव डा. चौधरीले बताइन । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले स्वास्थ्यका लागि कम्तिमा पनि कुल बजेटको १० प्रतिसत बजेट विनियोजन गर्नु पर्नेमा साडे ४ प्रतिसत बजेटमात्र विनियोजन गर्ने गरेकाले चाहेर पनि स्वास्थ्यमा प्रगति गर्न नसकिएको बताए । यादवले भने, ‘साडे ४ प्रतिसत बजेटमध्ये ४ प्रतिसत त कर्मचारी तलव भत्तामै सकिन्छ । बाकी रहेको आधा प्रतिसत बजेटले स्वास्थ्यमा चाहेर पनि अपेक्षा अनुसार सुधार गर्न सकिएको छैन । ’ यादवले स्वास्थ्यमा कम्तिमा पनि १० प्रतिसत बजेट विनियोजन हुनु पर्ने बताए ।
Leave a Reply