हेल्थ टुडे,
काठमाडौ,९ भदौः डेंगु परीक्षणका नाममा निजी स्वास्थ्य संस्थाले डेंगु परीक्षण किटको दुरुपयोग गरेको भन्दै सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालले पछिल्लो समय किटको दुरुपयोग बढेको दावी गरेका छन् ।
डेंगुको संक्रमण भएको छ कि छैन भनेर जाँच्न टेस्टकिट अनिवार्य नभएको उनको भनाई छ । तर, देशभर डेंगुको प्रकोप बढेका वेला स्वास्थ्य संस्थाले यसको दुरुपयोग गरिरहेको सरकारको दावी छ । डेंगुबाट नेपालमा तीन महिनाभित्र तीनजनाको ज्यान गइसकेको छ । सामान्यतः एउटा डेंगु किटको मूल्य चार सय ५० देखि पाँच सय रुपैयाँसम्म पर्छ । तर, कतिपय स्वास्थ्य संस्थाले प्रतिबिरामी चार हजार रुपैयाँसम्म असुलेको फेला परेको छ ।
किटको मात्रै भरपरेर डेंगु संक्रमणको निदान नहुने डा. लालको जिकिर छ । ‘अत्यधिक डेंगु देखिने मुलुकले समेत किट प्रयोग गर्न छाडिसकेका छन् । भारतले पनि हालसालै यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतले नेपाललाई पनि किट बन्द गर्न सुझाब दिएको छ ।’ उनले भने ।
गत वर्ष सरकारले १० हजार किट खरिद गरेर मागअनुसार स्वास्थ्य संस्थामा वितरण गरेको थियो । तर, यस वर्ष खरिद प्रक्रिया अघि बढाएको छैन । डेंगु टेस्टकिटमा गरिएको खर्चभन्दा लामखुट्टे नष्ट गर्नमा गरिएको खर्च प्रभावकारी हुने सरकारी अधिकारीहरूको भनाई छ । यसकारण पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘ खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको छ ।
नेपाली बजारमा विभिन्न प्रकारका टेस्टकिट उपलब्ध छन् । दुई वर्षपहिले संक्रमित व्यक्तिमा अहिले परीक्षण गर्दा डेंगु पोजेटिभ देखाउने किटको समेत प्रयोग भएको पाईएको छ । सरकारले खर्च गरेअनुसारको कुनै लाभ भएको छैन ।
Leave a Reply